खेलकुद

पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी

एजेन्सी । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका छन् ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएका खेलमा समूह ‘बी’ मा रहेको पोर्चुगलले हंगेरीलाई १–० ले हराएको हो । ३० औं मिनेटमा प्रिस्कीन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हंगेरी १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै पोर्चुगलले गोल गर्‍यो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा ४८ औं मिनेटमा भ्यालेन्टे सिल्भाले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै आइतबार राति नै भएको खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई ३–० ले हरायो । स्वीट्जरल्याण्डलाई जिताउन हारिस सेफेरोविक, ब्लेरिम डिजेमाइली र रिकार्डो रोड्रिग्वेजले गोल गरे । जिपछि ८ खेलबाट २४ अंकसहित स्वीट्जरल्याण्ड समूहको शीर्ष स्थानमा छ ।

पोर्चुगल २१ अंकसहित दोस्रो स्थानमा छ । समूह ‘बी’ अन्तर्गत राति नै भएको खेलमा फारोइ आइल्याण्डले एन्डोरालाई १–० ले हरायो ।