शिक्षा

रुम टु रिडको सहकार्यमा तीसवटा विद्यालयमा पुस्तकालय स्थापना

नुवाकोट । साप्ताहव्यापी रुपमा मनाइएको दशौँ पुस्तकालय दिवसका अवसरमा नुवाकोटका ३० विद्यालयमा पुस्तकालय स्थापना भएको छ । ‘रुम टू रिड’को सहयोगमा रुडेक नुवाकोटले पठन संस्कृति विकास र विद्यार्थीमा पाठ्यक्रमबाहेक अतिरिक्त ज्ञान प्रदान गर्न जिल्लाको विभिन्न स्थानमा रहेका ३० विद्यालयमा भवनसहितको पुस्तकालय सञ्चालनमा ल्याएको हो ।

शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको रुम टू रिडसँगको सहकार्यमा ककनी, पञ्चकन्या र तादी गाउँपालिका तथा विदुर र बेलकोटगढी नगरपालिकामा सञ्चालित विद्यालयमा साक्षरता कक्षाका लागि पाठ्यक्रम साहित्य, विज्ञान, मनोरञ्जनलगायत विधाको पुस्तकसहितको पुस्तकालय सञ्चालनमा ल्याइएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

पुस्तकालय दिवसका अवसरमा ककनी–५ स्थित ककनी गणेश आधारभूत विद्यालय ९निमावि०मा स्थापना गरिएको पुस्तकालय उद्घाटन गर्दै ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङले जिल्लाभरका तीस पुस्तकालयको एकैसाथ सञ्चालनमा आएको घोषणा गरे ।

रुम टू रिडले नुवाकोटका भूकम्पले क्षति पुगेकामध्ये ३२ विद्यालयमा आवश्यक कक्षाकोठाको निर्माणसहित साक्षरता कार्यक्रममार्फत विद्यार्थीलाई अक्षर चिह्नदेखि ज्ञान बढाउन पुस्तकालय स्थापना गर्ने तीनवर्षे कार्यक्रम सञ्चालनमा गर्दै आएको छ ।

चालु शैक्षिक सत्रदेखि सुरु भएको उक्त कार्यक्रमले विद्यालयमा भवन, पुस्तकालय निर्माण, शिक्षकलाई तालिम, शिक्षक–विद्यार्थीको लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ ।