उर्जा

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरुले राखे कडा माग

काठमाडौँ । गत असारदेखि बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा नपाएको भन्दै गुनासो गरेका छन् । मुआब्जा पनि नपाएको र आयोजनाको सबै काम रोकिएको भन्दै प्रभावितले आज माइतीघर मण्डलामा विरोध गरेका हुन् ।

प्रभावित क्षेत्रका बासिन्दाले रोकिएको मुआब्जा वितरण तत्काल शुरु गर्नुपर्ने, बजार क्षेत्रको मुआब्जा निर्धारण गर्नुपर्ने, घर गोठ र बोटबिरुवाको लगत संकलन गर्नुपर्नेलगायत माग राखेका छन् ।

सरकारले धादिङ र गोरखाका तत्कालीन २७ गाविसको मुआब्जा निर्धारण गरे पनि आरुघाट, खहरे बजारलगायतका स्थानको मुआब्जा निर्धारण गरेको छैन ।

स्थानीय प्रभावितले आयोजनाको नाममा राजनीति नगर्न, तत्काल निर्माण शुरु गर्नसमेत माग राख्दै प्रदर्शन गरेको बूढीगण्डकी आयोजना सरोकार समितिका अध्यक्ष हरेराम ढकालले जानकारी दिए ।

आयोजनाको डुबान क्षेत्रका भूकम्पपीडितले हालसम्म अनुदानसमेत पाएका छैनन् । बूढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास र पुनःस्थापना इकाइले मुआब्जा वितरण गर्न सकेको छैन ।

सरकारले आयोजना निर्माणका लागि भन्दै चिनियाँ कम्पनीसँग समझदारी गरेको छ । चिनियाँ कम्पनीसँग समझदारी भएपछि मुआब्जा वितरणलगायतका कार्य प्रभावित भएको छ । पुनर्वास तथा पुनःस्थापना इकाइले आफूमा आर्थिक अधिकार नभएको भन्दै मुआब्जा वितरण नगरेको स्थानीयको आरोप छ ।

बूढीगण्डकी सरोकार समिति आरुघाट विशालनगरका अध्यक्ष दिनेश ढकालले डुबान क्षेत्रका अन्य जग्गाको मुआब्जा तोकिए पनि बजार क्षेत्रको नतोकेर अन्योलमा राखिएको बताए ।