पु.समाचार

कांग्रेसले महत्वपूर्ण निर्णय गर्ने बेलामा रामचन्द्र पौडेललाई बेवास्ता गरेपछि ….!

काठमाण्डौ । पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं. २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् ।

के–केमा विवाद ?
उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् ।

त्यसैले ढिलाइ भइरहेको छ ।’ जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो ।

यसअघि कांग्रेसले साउनभित्रै उम्मेदवार टुंग्याएर चुनाव प्रचारमा निस्कने बताएको थियो । तर, मनोनयन दर्ताको चार दिन बाँकी हुँदासम्म पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेताहरू आफैँले उम्मेदवार टुंगो लागिसक्यो भने पनि त्यहाँ अझै विवाद देखिएको छ ।

यी ठाउँमा लगभग टुंगि
महोत्तरीका १५, सर्लाहीका २०, सप्तरीका १८ र सिरहाका १८ गरी ७१ मध्ये अब ११ स्थानीय तहमा मात्र समस्या रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । रौतहट, पर्सा, बारा, धनुषाको अन्तिम टुंगो शनिबार रातभर लगाउने गरी नेताहरू छलफलमा जुटेका छन् ।

वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकासहितका केही नगरपालिका र गाउँपालिकामा भने कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ ।