प्रवास

बालगृहलाई प्रवासी नेपालीहरुको एकलाख सहयोग

उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृहलाई हङकङबाट रु एकलाख चारहजार सहयोग प्राप्त भएको छ । हङकङमा रहनुभएकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग संकलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई बिहीबार जीवन बचाउ उपचार सेवा गृह, उर्लाबारीका अध्यक्ष सागर राईले हस्तान्तरण गरेका थिए ।

सुब्बासहित हङकङमा रहेका ३० जनाको समूहले गृहद्वारा सञ्चालित अक्षयकोषमा सो रकम सहयोग गरेका छन् । गृहमा आश्रित बालबालिकाको जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले सो रकम सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने सहयोगी सुब्बाले बताए ।

गृहकी अध्यक्ष बरालले हङकङबाट बालबालिकाको जीविकोपार्जनका लागि गरिएको सहयोग उदाहरणीय भएको उल्लेख गरेका छन् । उनले सहयोगी दाताहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा साथ र सहयोगका लागि अपिल गरेका छन् ।

नमूना बालगृहमा विभिन्न जिल्लाका ४३ जना बालबालिका आश्रित रहेका छन् । सो गृहका बारेमा केही दिनअघि राससबाट समाचार प्रकाशित भएपछि दाताहरुले रकम तथा खाद्यान्न सहयोग गर्दै आएका छन् ।