समाचार

भदौ १६ को त्यो कालो दिनः ‘इराकमा १२ जना नेपाली मारिएपछि…!’ (भिडियोसहित)

काठमाण्डौ । ०६१ भदौ १६ गते राजधानीको आकाशमा एकाएक कालो धुँवाको मुस्लो देखा पर्यो । राजधानीका विभिन्न स्थानमा देखिएको ती धुवाँको मुस्लो म्यानपावर कम्पनीहरूबाट आएका थिए । वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएपछि आक्रोशित सर्वसाधारणले राजधानीका सबैजसो म्यानपावरमा तोडफोड गर्नुका साथै आगजनी गरेको थिए ।

सम्झँदै कहाली लाग्ने त्यो घटना सम्झँदा अझै पनि आङै रिसिरङ्ग हुन्छ । तर आज घटनाको १३ वर्ष बितिसक्दा पनि वैदेशिक रोजगार व्यवसाय उस्तै अव्यवस्थित छ । जसका कारण कुनै पनि बेला भदौ १६ दोहोरिने त होइन भन्ने आशंका कायमै छ ।

वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका निर्दोष १२ जना नेपालीको हत्या भएको भदौ १५ गते बिहीबार १३ वर्ष पूरा भएको छ । इराकमा मारिएका नेपालीहरुको भिडियो भदौ १५ गते भाइरल भएको थियो भदौ १६ गते त्यसका कारण राजधानी काठमाण्डौमा दंगा बढेको थियो ।  देशमा रोजगारीको अवसर नभएपछि दलालहरूको प्रलोभनमा परेर इराक पुगेका नेपाली कामदारहरूले अनाहकमा ज्यान गुमाउनु परेको थियो । उनीहरूलाई अमेरिकी गुप्तचर भन्दै पहिले बन्धक बनाएको थियो र पछि निर्मम रूपले हत्या गरिएको थियो ।

यसरी १२ जना निर्दोष नेपालीको परदेशी भूमीमा भएको हत्याको आगो नेपालमा फैलिएको थियो । आक्रोशित सर्वसाधारणले म्यानपावर कम्पनीहरू र मुस्लिम संघ–संस्थालाई तारो बनाएर तोडफोड तथा आगजनी गरेका थिए । २०६१ भदौ १६ गतेको त्यो घटनामा राजधानीमा रहेको अधिकांश म्यानपावर कम्पनी जलाइएका थिए ।

करोडौंको क्षति भएको थियो । त्यसैले त्यस घटनायता वैदेशिक रोजगार व्यवसायीहरूले सधै भदौ १६ गतेलाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका छन् । तर त्यस घटनायता पनि वैदेशिक रोजगारमा व्यवसायमा ठगी रोकिएको छैन ।  हुन त त्यसरी इराकमा मारिएकाहरू अवैध बाटोबाट इराक पुगेका थिए । तर त्यस घटनालगत्तै सरकारले इराक जान पूर्णरूपले प्रतिबन्ध लगायो । र, पहिल्यै इराकमा पुगेकाहरूको हकमा भने श्रम स्वीकृति दिलाइयो ।

इराक घटना भएको आज १३ वर्ष बितिसकेको छ । अहिले भदौ १६ को त्यो घटनाको खाटा बिर्सिंदै गएको अवस्था छ । तर त्यस घटनाबाट सिक्नुपर्ने पाठ भने सिकिएको छैन । जसका कारण कुनै पनि बेला अर्को भदौ १६ दोहोरिने सम्भावना उत्तिकै छ । हुन त सबैभन्दा पहिले वैदेशिक रोजगारीमा जाने व्यक्ति आफै सचेत र सजग हुनुपर्छ ।  वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने नारा दिन थालिएको लामो समय बितिसकेको छ तर त्यो नारामै सीमित छ ।

यस्तोमा पुनः भदौ १६ नदोहोरिएला भन्न सकिन्न । हुन त इराकमा भएको घटनाका नेपालीहरू संस्थागत भन्दा पनि व्यक्तिगत दलालमार्फत इराक पुगेका थिए । तर त्यसको असर भने मर्यादित र संस्थागत रूपमा व्यवसाय गर्नेहरूमाथि पनि पर्यो । काम गर्ने क्रममा गल्ती हुने तर गल्ती दोहोर्याउनेलाई सजायको भागीदार बनाउने वैदेशिक रोजगार व्यवसायी संघको नीति छ ।

नेपालबाट अहिले दैनिक १५ सयभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीका लागि विदेशिने गर्छन् । त्यसरी वैदेशिक रोजगारमा जाने कतिपयले विभिन्नखाले समस्या भोग्नु परिरहेको छ । वैदेशिक रोजगार व्यवसायमा ठगी अझै उस्तै छ । र्याल चुहाउँदै हिंड्ने नक्कली दलालहरूको संख्या ठूलै छ ।

जसका कारण वैदेशिक रोजगार व्यवसायीलाई हेरिने नजर सम्मानित छैन । इराक घटना भएको आज १३ वर्षपछि पनि वैदेशिक रोजगार र व्यवसाय दुवै सुरक्षित हुन सकेको छैन । त्यसैले अर्को भदौ १६ दोहोरिन नदिन सरकार र वैदेशिक रोजगार व्यवसायीहरू पाइला–पाइलामा सजग र सचेत भएर अगाडि बढ्नुपर्छ ।

https://www.youtube.com/watch?v=AkhZL-Akb-c