राजनीति

कांग्रेसमा शशांक, शेखर र सुजाता कोइरालामध्ये को अघि आउदैछन् ? देखियो यस्तो नयाँ संकेत !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र पछिल्लो समयमा कोइराला परिवारका प्रभावशाली तीन नेताहरुको गठजोडलाई लिएर गर्मागर्मी बहस भैरहेको छ । महामन्त्री शशांक कोइराला, नेताद्धय शेखर कोइराला र सुजाता कोइरालाको पछिल्ला दिन हुन थालेका किचन बैठकले कांग्रेसभित्र एउटा छुट्टै राजनीतिक शक्ति समीकरण बन्ने सम्भावना देखिदैछ ।

सबैले आंकलन गरेका छन् । निकै लामो समय नेपाली कांग्रेसभित्र मात्र होइन नेपालको राजनीतिक इतिहासमै महत्वपूर्ण योगदान दिएको कोइराला परिवारको नयाँ पीढिले अब अर्को नयाँ अध्यायको सुरुवात गर्दैछ । त्यसैले कोइराला परिवारका तीन नेताहरुले उठाएका पछिल्ला कदमले कांग्रेसभित्र एउटा पृथक धार जन्मिने संकेत देखापरेको कांग्रेसमा आबद्ध नेता–कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।

कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन ।१३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ । पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ ।

गत ४ साउनमा छलफलपछि सामूहिक तस्बिर सार्वजनिक गरेर एकताको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने समझदारी बनाएका छन् । बिपीपुत्र शशांक महामन्त्री छन् । केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता केन्द्रीय सदस्य छन् । लामो समय डाक्टरी पेसा गरेर राजनीतिमा आएका शशांकलाई बिपीपुत्र हुनुको फाइदा छ । तर, शेखर राजनीतिक रूपमा दुई कोइरालाभन्दा अगाडि छन् ।

कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन् । सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ । तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन् । तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन् । उनीहरूलाई पार्टीको चिन्ता छ । एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’ कोइरालानिकट स्रोत भन्छ, ‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ ।’

भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए । राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए ।  सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन् ।

रामचन्द्र पौडेलले देउवासँग अब ‘फाइट’ गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूमध्येबाटै एकलाई नेतृत्वमा अघि सार्ने निष्कर्षमा कोइरालात्रय पुगेका हुन् । बिपीका जेठा छोरा प्रकाश कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् ।

तीन कोइरालामध्ये कसको राजनीतिक भविष्य राम्रो छ ?
नेपाली कांग्रेसभित्र अहिले देखिएका कोइराला परिवारबाट उदाएका नेतात्रयमा सबैको राजनीतिक भविष्य राम्रो देखिएपनि तीमध्ये सबैभन्दा बढी जनतासँग घुलमिल हुनेमा शेखर कोइराला अघि देखिएका छ ।

पार्टीको महामन्त्री समेत रहेका शशांक कोइरालालाई बीपी पुत्र हुनुको फाइदाले राजनीतिक भविष्य सोझिएको देखिन्छ । उता, सुजातालाई गिरिजापुत्री हुनुको नाताले थप स्थापित गरिरहेको देखिन्छ तर शेखर भने राजनीतिमा पसिना बगाएर मात्र स्थापित हुने तरखरमा देखिन्छन् ।

उनको राजनीतिक यात्रामा शशांक र सुजाताको सिधै पिताको नाम जोडिदैन । यद्यपि, शेखर कोइरालालाई एउटा अधिकार के छ भने नेपालको राजनीतिक संग्राममा कोइराला परिवारको पनि ठूलो योगदान रहेको छ र त्यसको एउटा सदस्य भएको नाताले उनलाई पनि त्यसको जस जान्छ । त्यसैले तीन कोइरालामध्ये शेखरको राजनीतिक भविष्य थप चहकिलो देखिदैछ ।

उनका पछिल्ला राजनीतिक गतिविधि र जनतासँग भएको घुलमिलले यो कुराको संकेत दिएको नेपाली कांग्रेसलाई नजिकबाट बुझ्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।