खेलकुद

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा : साफ अन्डर १५ च्याम्पियनसिप

काठमाण्डौ । बंगलादेशलाई पराजित गर्दै नेपाल साफ अन्डर १५ च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गर्यो । खेलको पाँचौ मिनेटमा नेपाललाई अग्रता दिलाएका आकाश बुढामगरले ३० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

६४ औ मिनेटमा बंगलादेशले एक आत्मघाती गोलको उपहार दिएको थियो । ३–० ले पछि परेको स्थितिमा बंगलादेशले एक मिनेटभित्र लगातार दुई गोल गरेका थिए । नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै बंगलादेशका फोएसलले २ गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो ।

आक्रामक खेलको इन्जुरी समयको अन्तिम मिनेटमा नेपालले थप गोल गरेपछि फाईनल यात्रा सुनिश्चित गरेको हो । नेपालले उपाधिका लागि भारतसंग आइतवार प्रतिस्पर्धा गर्नेछ ।

साफ अन्डर १५ च्याम्पियनसिपको पहिलो संस्करणको आजै भएको अर्काे खेलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै भारतले फाईनलमा स्थान बनाएको हो ।