अन्तर्राष्ट्रिय

अस्थायी संघर्षविराम गर्न राष्ट्रसंघको आह्वान

एजेन्सी ।  संयुक्त राष्ट्रसंघले तथाकथित इस्लामिक स्टेटको नियन्त्रणमा रहेको सिरियाको रक्का शहरबाट सर्वसाधारणलाई निस्किन दिनका निम्ति अस्थायी संघर्षविराम गर्न आह्वान गरेको छ।

लडाइँका कारण रक्कामा २५ हजार मानिसहरु फसेको राष्ट्रसंघको विश्वास छ। गठबन्धन फौजसँग भीषण लडाइँ भइरहँदा आइएस लडाकुहरुले सर्वसाधारणलाई शहर छोडेर जान नदिने प्रयास गरिरहेका छन्।

राष्ट्रसंघले हवाई हमला गरिरहेको गठबन्धन फौजलाई केही समयका निम्ति आफ्नो कारबाही रोक्न आग्रह गरेको हो। राष्ट्रसंघका एकजना अधिकारीले तथाकथित इस्लामिक स्टेटबाट चाहिँ कसैले कुनै दयाको अपेक्षा गर्न नसक्ने बताएका छन्।

उनका अनुसार आइएस लडाकुहरुले सर्वसाधारणलाई मानवढालका रुपम प्रयोग गर्न भरमग्दुर प्रयास गरिरहेका छन्।