मनोरञ्जन

सय बर्षपछि फर्कियो मगरहरुको सोरठी नाच

पर्वत । पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । मगर समुदायमा हराउनै लागेको लोकप्रिय सोरठी नाचले यतिबेला स्थान पाएको हो । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको छ ।

मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि सोरठी गाउन छोडिएको थियो । तर पुन मगरको कुल देवता करवाकेलीको पूजा गर्ने समयमा अरू गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो । गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम लिएपछि यहाँ सोरठी शुरु भएको छ ।

सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताए । आफ्नो बाजेको पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अब यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उनको भनाइ छ ।

सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलिजाले बताए । नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य पनि लगातार १ घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाको भनाइ छ । नृत्यको शुरुवातमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको विश्वास गर्छन् ।