राजनीति

गगन थापाद्वारा बूढानीलकण्ठको मतदाता नामावलीमाथि छानविन गर्न माग

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ४ र ५ का नेता कार्यकर्ताले बूढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनका क्रममा अनियमितता भएको भन्दै तत्काल छानविन गर्न माग गरेका छन् ।

काँग्रेस नेता डा शेखर कोइराला, क्षेत्र नं ४ का सांसद गगनकुमार थापासहितको टोलीले आज चारबुँदे मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।

बूढानीलकण्ठ नगरपालिकामा अनधिकृत रुपमा कार्यालय बाहिर संकलन गरिएका सम्पूर्ण मतदाता नामावलीको छानविन गरी बदर गर्नुपर्ने र नगरपालिका कार्यालयमा संकलन गरिएका सवै नामावलीमाथि भने छानविन गरिनुपर्ने माग निवेदनमा गरिएको छ ।

त्यसैगरी, कर्मचारी तथा जनप्रतिनिधिको अनधिकृत क्रियाकलापका कारण बूढानीलकण्ठ नगरपालिकाका धेरै बासिन्दाले नाम दर्ता गर्न नपाएका कारण नाम दर्ता गर्ने लगायतका कार्यका लागि पुनः व्यवस्था गर्न पनि माग गरिएको छ ।

यही भदौ ३ गते आयोगले तोकेको समय सकिएपछि नेकपा ९एमाले० नगर समिति संयोजक दीपक निरौलाको घरमा वडा नं ९ का अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा, एकजना वडा सदस्य, निर्वाचनमा खटिएका कर्मचारी आकृत खत्री लगायतका व्यक्तिहरू मतदाता नामावली संकलन तथा दर्ता गरिरहेको समयमा निर्वाचनका सामाग्रीसहित पक्राउ परेका थिए ।

घटनापछि नेपाली काँग्रेसलगायतका पार्टीले सत्यतथ्य छानविन गर्न, कार्यालय समय बाहिर संकलित नामावली बदर गर्न र दोषी कर्मचारी तथा जनप्रतिनिधिमाथि कारबाही गर्न माग राख्दै भदौ ४ गतेदेखि बूढानिलकण्ठ नगरपालिका कार्यालयमा धर्ना दिँदै आएका छन् ।

निर्वाचन आयोगले गत साउन १६ गतेदेखि यही भदौ ३ गतेसम्म देशभरका सवै स्थानीय तहमा तस्वीर सहितको मतदाता नामावली संकलन गरेको थियो ।