शिक्षा

महंगो शिक्षाका कारण अभिभावक मारमा, समयमा शूल्क नबुझाउदा यसरी हुन्छन् विद्यार्थी परिक्षाबाटै बञ्चित

लक्ष्मी नेपाल
काठमाण्डौ । “यहाँ अब कसैले सहयोग गर्दैन भने चाही पढ्न सक्दैन ।” भन्छिन्, बानेश्वरकी मेघा मगर (बर्ष ५०) । तीन छोरीकी आमा मेघालाई अब छोरीहरुलाई कसरी बढाउने चिन्ताले सताउन थालेको छ । तीन वटै छोरीले प्लस टु सकेका छन् । ठूली छोरी त डिग्री पढ्ने तरखरमा छिन्, माइली छोरी पध्मकन्या क्याम्पस स्नातक तह अध्ययन गर्दैछन् भने कान्छी छोरीले भर्खरमात्र प्लस टु सकेकी छन् । पढाइ सबैको राम्रो छ मेघा भन्छिन् । “तर अब छोरीहरुलाई पढाउने की नपढाउँने दोसाधमा छु । ” पढाउन मन त छ तर मेघासंग महंगो रुपैंया खर्च गरेर छोरी पढाउने क्षमता छैन ।

सिन्धुलीबाट ५० सालमै काठमाण्डौ छिरेकी मेघाका जोइपोइ मजदुरी गरेरै घर गुजारा चलाइरहेका छन् । ०५९ सालदेखि नयाँ बानेश्वरस्थित ह्वाइटहाउसमा सहयोगी कर्मचारीका रुपमा मेघाले काम गर्दै आएकी छन् भने उनका श्रीमान ज्यामी काम गर्छन् ।

आफुहरुले अक्षर चिन्न नसके पनि फूल जस्तै गरी हुर्काएका छोरीहरुको भविश्य अब कस्तो होला बिलखबन्धनमा छिन् मेघा । अब एकै पटक ठूलो खर्च जुटाउन नसकिने पिरले कतैबाट हारगुहारको आशा पनि गरिरहेकी छन् उनी । यहाँसम्म त आफूले काम गरेको कलेजले पनि सघायो । श्रीमानको पनि महिनामा १५÷१६ हजार कमाइ थियो । मेरो पनि जोडिन्थ्यो । दुःख सुख पुर्याइएको थियो । अब त आफूहरुको उमेर पनि घकिृदै गयो । हिजो जस्तो काम गर्न सक्ने शरिर पनि छैन । सरकारी कलेजमा आफूले चाहेको बिषयमा नाम निकाल्नै गाह्रो । अब न आयको बाटो बढाउँन सकिन्छ, न छोरीहरु आफैं काम गरेर पढ्न सक्छन् खै के गर्ने होला, गाह्रो छ । हासिली मेघा पीँडा लुकाउँदै मुस्कुराइन् ।

शंखमुलका राजिव गुरुङ मध्य बानेश्वरस्थित न्यू समिट कलेजमा सिएसआइटि पढ्दैछन् । भन्छन्– महंगा छन् सबै निजी कलेजहरु हामी जस्ताका लागि । सरकारी कलेजमा कोशिस नै नगरेको त होइन तर सिमित कोटा भएकाले नाम निस्केन । अहिले कलेजमा लाग्ने सबै खर्च धान्न बुबाआमालाई नि मुस्किल छ । केही काम गर्दै पढ्नु भन्नुहुन्छ तर भने जस्तो काम नि पाइन्न । फेरी काम गर्न थाल्दा पढाइ नि राम्रो गर्न सकिन्न । कलेजमा उनको कोर्ष सकिन ७ लाख ११ हजार लाग्छ ।

सिनामंगलस्थित नोबेल कलेजमा पढ्दै गरेकी एक छात्रा कलेज त महंगो छ नि हाम्रो भन्छिन् । बिबिए पढ्दै गरेकी उनी पढाइसंगै प्रयोगात्मक त राम्रो छ तर कलेजको प्रशासन अलि चित्त बुझ्दो छैन भन्छिन् । अझ यति महंगोमा पढेर नि सानो तलबमा जागिर मुस्किलले साथीहरुले खाइरहेको देख्दा मन खिन्न हुने गरेको बताउँछिन् ।

नोबेलमै बिएससी नर्सिङ पढ्दै आएकी अर्की छात्रा पढाइ र प्रयोगात्मकमा कुनै सम्झौता गर्दैन कलेजले । त्यसमा कम्प्लेन गर्ने ठाउँ पनि छैन तर अरु निजी कलेज जस्तै हरेक बर्ष १० प्रतिशतसम्म शूल्क बढाउने र समयमा तिर्न नसक्दा ब्याजसहित जोडेर अर्को सेमेस्टरमा बिल बनाउँछ । त्यो चाही बिचित्र लाग्छ भन्छिन् उनी ।

काठमाण्डौका सरकारी बाहेक निजी कलेजले बिषय अन्तर्गत मनोमानी दर रेट राखेका छन् । कलेजले बिभिन्न आकर्षण देखाएर विद्यार्थी लोभ्याइ ठूलो खर्चमा अबिभावकलाई फसाउने गरेका छन् । पछिल्ला समयमा बिद्यार्थालाई झुक्याउन पत्रपत्रिका र टेलिभिजनमा महंगा–महंगा विज्ञापन समेत गर्ने गरेका छन् । कलेज भर्नापछि पनि बिभिन्न वर्कशप र कार्यक्रमका लागि भन्दै छुट्टै पैसा असुल्छन् पनि । धेरैजसो कलेजहरु आफ्नो कलेज अरु भन्दा फरक र राम्रो भएकै दावी गर्छन् ।

एमविए र बिबिए पढाइ हुदै गरेको मध्य बानेश्वरकै साइम कलेजकी एमबिए कोअर्डिनेटर सबिना तुलाधर सरकारीको तुलनामा महंगो भन्नु स्वभाविक भएपनि आफ्नो कलेज फरक र तुलनात्मक रुपमा शुलभ रहेको बताउँछिन् । आर्थिक अवस्था कमजोर रहेका बिद्यार्थीका लागि पनि प्राध्यापकको सहयोगिका रुपमा रहदै पढ्न सकिने उनी बताउँछिन् । साइममा एमबिए दुई बर्षे कोर्षका लाागि साढे पाँच लाख र बिबिए चार बर्षे कोर्षका लागि पनि त्यति नै पैसा लाग्ने तुलाधरको भनाइ छ । कलेजमा हुने अन्य गतिबिधिका लागि भने बिद्यार्थीबाट नउठाइ सबै कलेजले नै व्यहोर्दै आएको उनको दावी छ ।

तर जे होस् यतिसम्मकी कतिपय कलेजमा सोधपुछ कक्षमा गएर कुनै एउटा कोर्षका लागि कति पैसा लाग्छ भनेर बुझ्न खोज्दासमेत यो त हामीलाई थाहा हुन्न माथि सरहरुसंगै बुझ्न पर्छ भन्छन् । भर्नाको समयमा चाही हामी आफै यहाँहरुलाई काउन्सिलर गर्छौ । कतिपय कलेजका प्रिन्सिपलहरु कलेज महंगो भनेपछि मिडियासंग पनि बोल्न डराउछन् वा रचाउदैनन् । भने कतिपय कलेजहरु गुणस्तर दिनका लागी शुल्क लाग्ने कुराको तर्क गर्छन् ।

यस्तो कुराले भन्न मन लाग्छ शिक्षा जस्तो क्षेत्रमा किन अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । सबैले थाहा पाउँदा के हुन्छ ? सबैले पढ्ने हैसियत नराखे पनि कलेजमा लाग्ने खर्च र पढाइ हुने बिषयहरु थाहा दिदा के बिग्रन्छ ! पारदर्शिता हुन पर्दैन ?

उच्च घरानाका छोराछोरी र पढाइमा अब्बल भएका बिद्यार्थीलाई त सरकारी होस् वा गैरसरकारी पढाइ गर्न उति गाह्रो छैन । तर मध्यम स्तरका विद्यार्थीका लागि भने उचित गन्तब्य छैन । प्लस टु सकेर भर्खर मात्र स्नातक पढ्न काठमाण्डौ आएका राजेन्द्र कट्वाल भन्छन् काठमाण्डौका सबै नाम चलेका कलेजहरुमा गईसकें तर कसैले ४ लाख त कसैले १५ लाख रुपैयाँसम्म लाग्ने बताए, बीबीएको कोर्ष सक्नलाई । बस्ने र खानेको हिसाब त कहाँ हो कहाँ !

जेभियर कलेज कालोपुलमा अध्ययनरत एक बिद्यार्थीको दुखेशो उस्तै छ । उनले भने, पढाई खर्च महंगो हुँदा सपना अधूरै रहने बताइरहेका छन् । भन्छन् बीचमै पढाइ छोडेर खाडी मुलुक हानिने सोचमा छु । समयमा शूल्क तिर्न नसक्दा परिक्षामा सामेल हुनै पाइएन । यस्तो भएपछि अब यहाँ बसेर खै के गर्नु र खै ! बाबु आमाको पढाइ खर्च थेग्ने अवस्था नि छैन ।

जेभियर कलेजका प्रबन्ध निर्देशक समेत रहेका हिसानका महासचिब लोकबहादुर भण्डारी पैसा नभएर पढ्ने अवस्था नहुँने दावी गर्छन् । भन्छन्– सरकारी भन्दा निजी कलेजहरुले गुणस्तरीय शिक्षाका साथै सौलियत पनि गरिहेका छन् । पछिल्लो समय बिषय बिज्ञ शिक्षकको अभावमा पनि निजी कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिहेको भन्दै कमजोर आर्थिक अवस्थाका बिद्यार्थीलाई पनि छात्रबृतिको व्यवस्था गरिहेको उनको भनाइ छ । कतिपय निजी कलेजहरु मुस्किलले चलिरहेका भन्दै कलेजका सम्बन्धमा कुनै विवाद नआएको उनको दावी छ ।

शिक्षा र स्वास्थ्य जस्ता विषय सरकारले निशुल्क प्रदान गर्नु पर्ने हो । तर हरेक बर्ष मनोमानी ढंगले निजी कलेजले शूल्क बृद्धि गरेकै हुन्छन् । जसको बिरोधमा बिभिन्न पार्टीका बिद्यार्थी भातृ संगठन पनि बिरोधमा उत्रन्छन् । तर काग कराउँदैछ पिना सुक्दैछ भने झैँ कलेज संचालकहरु भने एक कानले सुनेर अर्को कानले उडाइदिन्छन् । सरकार हेरेको हेरै । सरकारले न अनुगमन गर्छ न त कार्वाही गर्ने आँट नै गर्न सक्छ ।

सरकारको संयन्त्र कमजोर र फितलो हुँदा शिक्षा व्यापारमै परिणत भएको नेविसंघका पूर्ब अध्यक्ष समेत रहेका काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल बताउँछन् । बजारको प्रतिस्पर्धालाई आधार बनाएर कलेज संचालन भइरहेको उनको भनाइ छ । सरकारले अनुगमन नगर्दा निजी क्षेत्र अनियन्त्रीत त भएको छ नै उसले एकाधिकार नै जमाएको छ भन्दा फरक नपर्ला उनको तर्क छ ।

शिक्षा मन्त्रालयकी सह–प्रवत्ता सरस्वती पोख्रेल बिना अनुमति कलेज सञ्चान गर्नु, मनलाग्दी शूल्क निर्धाण गर्नु नियम बिपरित हुने भन्दै त्यस्ता कलेजलाई कारबाही हुने बताउँछिन् । तर निजी कलेजहरु विश्व विद्यालयको मातहतमा सञ्चालित हुने भएकाले शिक्षा मन्त्रालयसंग सबै रेकर्ड भने नरहेको उनी बताइन् । कलेजहरुले सम्बन्धन पाउने र संचालन प्रक्रियाबारे मन्त्रालय र विश्वविद्यालयबीच छलफल भने भइरहेको उनको भनाइ छ । शिक्षामा व्यापार हुनु हुन्न भन्दै एसिसिआइ नेपालले बदमासी गर्दा खारेजमा परेको सह–प्रवक्ता पोख्रेलले बताइन् । अनुगमनका सम्बन्धमा सरकारले भने जस्तो काम गर्न नसकेकै उनको स्विकारोक्ति थियो ।

पछिल्लो समयमा बिबादित बनेको नेशनल कलेजको बिषयमा कुरा गर्दा त्रिविले सबै प्रकृया पुरा गरेको भनेर पत्र आएपछि मन्त्रालयले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोे थियो । मन्त्रालयले सर्बोच्च अदालतकोको आदेश मानेर सम्बन्धन दिएको हो । दुईपटकसम्म अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन भएपछि उक्त सम्बन्धन दिएको, सहप्रवक्ता पोख्रेलले बताईन् ।

गजबको कुरा त यो छ की, सरकार भन्दा विद्यार्थी सचेत छन् । भन्छन्– हामीले तिरेको महंगो शुल्कले आर्थिक अवस्था कमजोर भएका केही साथीहरुले पढ्न पाएका छन् । एपेक्स कलेजमा पढ्दै आएका एक छात्रले भने । इन्ट्रान्समा आएको नम्बर अनुसार कलेजले सुबिधा पनि दिने गरेको छ, उनी भन्छन् । कलेज महंगो होइन, कलेजले दिदै आएका सुबिधा र पढाइ अनुसार ठिकै हो, केही महंगो जस्तो लागे पनि कति जनाले छात्रबृतिमा पढ्न पाएका छन् नि । उनको छुट्टै तर्क छ ।