विचार/ब्लग

श्रद्धा र सम्झनामा बुवा

काठमाण्डौ । ६ बर्ष लाग्यो, बुवा सधैका लागि टाढिनु भएको । तर यो मनबाट कहिले टाढा हुनु भएन । हरेक पाइला पाइलामा सम्झना र श्रद्धाले मन छटपटिन्छ ।

कहिले काही सपनामा देख्न पाउँदा मात्रै पनि खुशीले मन फुरुंग हुन्छ । हातैमा जे धुलो झरेपछि सुनको फूल भनेझै मात्रै भएको हो कि । जीवन रहँदासम्म खुशी दिन नसक्ने सन्तानले मृत्युपछि श्रद्धा अर्पण गर्नुको नि खै के अर्थ रहला ? कहिले काही यस्तो पनि लाग्छ । तर सन्तानले पनि सकेसम्म आफ्ना बुवा आमाको खुशीकै लागि प्रयत्न त गरेकै हुदो हो पर्याप्त नहुनु बेग्लै कुरा ।

साच्चै भनु जब मन आतिन्छ अनि खुशीले मातिन्छ नि । बुवाको सामिप्यता अति नै खडकिन्छ । जब एक्लो महसुस हुन्छ तब पनि बुवाको सम्झनामा उहाँका शब्दहरु धिमा बनेर नेपथ्यमा गुञ्जिरहे झै लाग्छ । “कान्छी घरदेखि टाढा कही जान पर्दैन, कहि नजा है । मलाई बोल्ने साथी चाहिन्छ ।”

साच्चै बुवाको म साथी थिए । बुवा पनि मेरो असल साथी हुनुदो रहेछ । बल्ल आज ख्याल हुदैछ । बुवाले खाली मलाई बाहिर जान, केही गर्न रोके जस्तो लाग्थ्यो, कति सुन्नु गन्थन भने जस्तो पनि लाग्थ्यो तर होइन रहेछ । आज बुवाका तिनै शब्दले स्तब्ध बनाएको छ ।

         

             -लक्ष्मी नेपाल/

बुवा साथमा हुनु हुदो हो त कति कुरा सुनाउथे होला । मेरो कुरामा बुवाको प्रतिक्रिया कस्तो हुन्थ्यो होला । सुनाउन नपाइ छटपटीमै कति कुरा व्यर्थ भैदिन्छन् । खुशीमा साथी भेट्न उति गाहे हुन्न तर दुःखमा साथ दिनेहरु कहाँ पाउँनु । सायद यसैले पनि होला अप्ठ्यारो परेका बेला बुवाकै साथ सहयोग सधै खोजिरहदो रहेछ मनले । कहिले काही सम्झनामा गला अबरुद्ध बन्छ । किन नियति पनि यति बिध्न निर्मम बन्छ । यति चाडै मेरो गार्जन खोसिदियो । दुःख बिसाउने छहारी ढाली दियो । तर सम्हालिन्छु, म जस्ता अरु धेरै अनुहार देखेर बिस्तारै सामान्य रुपमा आफुलाई ल्याउने प्रयत्न गर्छु ।

हुन पनि साच्चै बुवाका भोगाइ चिन्तनबारे सुनिदिने आखिर म नै थिए । पुर्खैली थलो ताप्लेजुंगमा बाचेको त्यो जीवन शैली होस् वा नेपालको राजनीतिक घटनाक्रम भारतिय नेहरुलालदेखि तत्कालिन राजा महेन्द्रका कथा किताबमा भन्दा धेरै बुवाबाटै सुने । मकैका ढोड बालेर अक्षर खोट्याएकै भरमा रामायाण र सस्कृत कसरी प्रष्टसंग पढ्न, लेख्न सक्या होलान् । अहिले जस्तो रेडियो टिभी अनि अखबारमा खबर पनि आउदैन थिए । वस्तु गोठालो गर्दै र मानो घिउ खाएर नूनको भारी धरानसम्म बोकेर गुजारा चलाएको त्यो बेलाको मान्छेले यतिका बिधि सूचना कसरी थाहा पाए होलान् मनमा बाल कौतुहलता उस्तै हुन्थ्यो । तर धेरै कुरा बुवाले बेलीबिस्तार लगाउनुहुन्थ्यो ।

म जन्मदा ६० बर्ष उकालो लाग्नु भएको मेरो बुवाले लौरो टेक्न थालिसक्नु भएको थियो । तर तीन पुस्ता फरक परेपनि मेरो बुवा मेरो साथी जस्तै अनि बुवाका लागि म साथी बन्ने प्रयास गरेछु जानी नजानी भन्ने लाग्छ । सम्झदा अनौठो पनि लाग्छ । बुवा असाध्य कडा स्वभावको । चित्त नबुझेको कुरामा कडा रुपमा प्रस्तुत हुने तर मलाइ भने डर लाग्थ्यो । जे भो भै गो अब शान्त भएर कुरा गरौ भन्ने लाग्थ्यो । तर बुवा भन्नु हुन्थ्यो, चाहिने कुरामा यसरी मलिन भयो भने त सबैले हेप्छन्, कडा नै हुनु पर्छ । बुवाको कुरा हो कि जस्तो लाग्छ हिजो आज तर आफ्नो स्वभाव परिवर्तन हुन त्यति सजिलो कहाँ छ र ? बुवा कडा स्वभावको भएपनि मलाई समकालिनहरुको तुलनामा निकै स्वतन्त्रता थियो । तर सवाल जवाफ गर्न चाही पाइदैन थियो । आफु भन्दा ठूलाले भनेका कुरामा जवाफ लाउन हुन्न भन्नुहुन्थ्यो । तर खुशी लाग्छ ! राजनितिक वा सास्कृतिक अनि सभा सम्मेलनमा कहिले रोक्नु भएन । रात बेहाल छोरी मान्छे घर बाहिर निस्कनु हुन्न भन्ने मेरो समाजमा मलाई उति रोक छेक थिएन । बुवाले मप्रति गर्नु भएको त्यो सदासयता वा विश्वास थियो अथवा बुवामा भएको परिवर्तनको सोच । आखिर समय र भाग्य जस्तो भएपनि बुवाले उभ्याइदिनु भएको त्यो परिस्थतीप्रति भने जीवनभर कृतज्ञ रहने छु ।

आज त्यही पृष्ठभूमिमा उभिएर बाच्न पाउँदा खुशी छु । बुवाले देखाएको बाटो सधै हिडिरहन सकु । कहि कतै गल्ति गरेकी भए क्षमा पाउँ । बुवाको आत्माले शान्ति पाओस् ।

आज भन्न मन लागेको छ । बुवा आमाको कम्तिमा कुरासम्म सुनिदिने गरौ । आमा बुवाको साथ र आर्शिवाद भन्दा ठूलो कुरा सायदै नहोला । विना स्वार्थको यस्तो साथ र आर्शिवाद चाही भाग्यमानीले मात्रै पाउँछन् । कतिपय अवस्थामा त कर्मले नि भाग्य बनाउँन सकिन्छ रे । त्यसैले भाग्यमानी बन्ने प्रयास गरौ ।

आज कुशे औसी अर्थात बुवाको मुख हेर्ने दिन पनि । श्रद्धा र सद्भावपूर्ण रुपमा मनाउने चलन रहेको छ ।
आजको दिन आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । तर आज मात्रै आफ्ना बुवा आमालाई सम्मान र श्रद्धा गरेर पुग्दैन सन्तानले आफ्ना मातापिताका लागि जति गरे नि धेर हुदैन ।
इस्तै हिन्दु परम्परा अनुसार पवित्र मानिने कुशलाई विधिवत रुपमा घर घरमा भित्र्याइने चलन रहेको छ । भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा गइ श्राद्ध, तर्पण, दान गर्ने चलन पनि रहेको छ । खास गरेर आजको दिन गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, गरे पुण्य प्राप्त हुन्छ भन्ने आम विश्वास रहेको छ ।