खेलकुद

भदौ ९ गतेदेखि फुटसल राष्ट्रिय लिग प्रतियोगिता हुने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ ।

नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो ।

फुटसल खेलको विकास र सही व्यवस्थापन गर्ने उद्देश्यले आज एक कार्यक्रम आयोजना गरी एन्फा र टर्नपाइक इभेन्ट प्रालिबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।

नेपाली फुटसलको विकास र आगामी असोज २७ देखि इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स प्रतियोगितामा देशको प्रतिनिधित्व व्यवस्थित गर्न एन्फा र टर्नपाइकबीच पाँच वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले बताए ।

कार्यक्रममा एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र आदान–प्रदान गरेका हुन् ।

सम्झौताअनुसार सन् २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई टर्नपाइकले प्रायोजन गर्नेछ । हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाइ रकम टर्नपाइकले र एक तिहाइ रकम एन्फाले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले आधिकारिकरुपमा पहिलोपटक राष्ट्रिय फुटसल लिग हुन लागेको र ढिलै भएपनि सकारात्मक शुरुवात भएको बताए ।

एन्फासँग फुटसल प्रतियोगिता गर्नका लागि भएको पाँचवर्षे सम्झौताले फुटसलको माध्यमबाट फुटबल खेलको समेत विकासमा सहयोग पुग्ने टर्नपाइकका निर्देशक उकेश लोहनीले बताए ।

रायमाझीले लिग सञ्चालन गर्न बूढानीलकण्ठको चौर फुटसल रिक्रिएसन सेन्टर र बौद्धको स्तुपा स्पोर्ट्स हबसँग सम्झौता गरिसकेको जानकारी पनि दिए ।