स्वास्थ्य

अस्पतालका भवन हस्तान्तरण हुन नसक्दा मर्कामा

महोत्तरी । महोत्तरीका विभिन्न स्थानमा अस्पताल सञ्चालनका लागि नवनिर्मित भवन हस्तान्तरण हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

स्वास्थ्य मन्त्रालयको लगानीमा नवनिर्मित सुविधासम्पन्न भवन अलपत्र भई दिनानुदिन जीर्ण बन्दै गएको छ । पुरानो भवनबाट सेवाग्राहीलाई सेवा दिन अति नै समस्या सिर्जित भएको चिकित्सकले जनाएका छन् ।

सोनमा गाउँपालिका उपस्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवन निर्मित भएको दुई वर्ष बित्दासमेत एक सानो कोठाबाट सेवाग्राहीलाई सेवा दिन अति नै कठिनाइ भएको प्रमुख विनोदकुमार सिंहले बताए ।

रु १५ लाखको लागतमा निर्मित भवन हस्तान्तरण हुन नसकेको अवस्थामा बिरामीको चाप बढेपछि राम्ररी जाँचसमेत गर्न नसकेको प्रमुख सिंहले स्वीकार गरे । त्यस्तै, जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो अस्पतालका रुपमा स्थापित गौशालाबजारस्थित प्राथमिक स्वास्थ्य चौकीको परिसरमा नवनिर्मित शवपरीक्षण भवन सञ्चालनमा नआएपछि अकालमा मृत्यु भएका मृतकका आफन्तलाई शव परीक्षण गराउन अति नै कठिनाइ हुँदै आएको छ ।

अकालमा परिवारको सदस्य गुमाउनु परेको अवस्थामा स्थानीयस्तरमा शव परीक्षणको व्यवस्था हुन नसक्दा पैसाको साथसाथै समयको पनि बर्बाद हुँदै आएको स्थानीयवासी नरेन्द्रप्रसाद सिंहले बताए । यहाँको शवपरीक्षण भवन सञ्चालनमा नआएपछि शवको परीक्षणका लागि सदरमुकाम जलेश्वर पठाउँदै आएको इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । गौशाला क्षेत्रमा शव वाहन नभएपछि मृतकका परिवारले नै ट्र्याक्टरको व्यवस्था गरेपछि शव परीक्षणका लागि पहल गरिँदै आएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले अस्पताल व्यवस्थापन समितिले समयमै चासो नदेखाएपछि नवनिर्मित भवन उपयोगमा आउन नसकेको प्रतिक्रिया दिए । अबको केही दिनमा चाँजोपाँचो मिलाएर सो भवन सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए ।

स्वास्थ्य मन्त्रालयको लगानीमा बनेका सदरमुकाम जलेश्वरमा चारवटा भवन रहेका छन् भने सोनमा, कान्तिबजार, रामगोपालपुरलगायतका क्षेत्रमा सुविधासम्पन्न वर्षौं पहिले नवनिर्मित भवन हस्तान्तरण हुन नसक्दा उपयोगविहीन बन्दै गएका छन् ।