पु.समाचार

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको अन्तिम तयारी (समय तालिकासहित)

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गतेदेखि पाँच दिने भारत भ्रमणमा निस्कदैछन् । उनको यो भ्रमण राजकीय भ्रमण हो । प्रधानमन्त्री देउवाको यो भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको जनाइएको छ ।

भारत भ्रमणमा निस्कने पूर्वसन्ध्यामा प्रधानमन्त्री देउवाले भ्रमणको तयारीका लागि सबै पक्षसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री देउवाले शनिबार मात्र पूर्व प्रधानमन्त्रीहरुसँग भ्रमणबारे गम्भीर छलफल गरेका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, खिलराज रेग्मी लगायतले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भारतीय सत्तापक्षसँग नेपालका तर्फबाट गर्नुपर्ने समझ्दारीका विषयमा गम्भीर सुझाव दिएका थिए ।

ती सुझावमा नेपाल–भारतबीचको सीमा विवाददेखि पहिलेका सरकारबीच भएका सहमतिहरुलाई कार्यान्वयनसम्म रहेका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा राजनतिक दलका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष समेत भारत भ्रमणको विषयमा गम्भीर छलफल गरेका छन् ।

सो छलफलमा राष्ट्रपति भण्डारीले भारतका कारण नेपाली भूमि डुबानमा परेको बेला उसँग कुरा राख्न डराउन नहुने सुझाव दिएकी छन् । त्यसकारण पनि प्रधानमन्त्री देउवाको यो पटकको भ्रमणले निकै ठूलो अर्थ राख्ने जानकारहरु बताउन थालेका छन् ।

प्रधानमन्त्री देउवाको काँधमा त्रिदेशीय सम्बन्धको कुटनीतिक मामललाई समेत मिलाउने जिम्मेवारी रहेको छ । भारत र चीबीच देखिएको सीमा विवादको बेला नेपालको पोजिसन के हुने भन्ने विषयमा व्यापक चर्चा हुने गरेको छ ।

यो विषयमा समेत प्रधानमन्त्री देउवाले भारतीय संस्थापन पक्षसँग कसरी कुरा राख्छन् त्यही आधारमा नेपाल र भारतबीचको सम्बन्ध थप स्थापित हुने आंकलन गरिदैछ ।

दुई देशबीचको समझ्दारी गर्ने यस्तो छ तयारी
प्रधानमन्त्री देउवाको यो भ्रमणका क्रममा भारतसँग थुप्रै विषयमा समझ्दारी हुने तयारी देखिन्छ । नेपालमा आएको भूकम्पपछिको पुननिर्माणदेखि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर विकासका लागि सभागृह बनाउने सम्मका विषयमा भ्रमणमा सहमति हुँदैछ ।

त्यस्तै नेपालको महत्वपूर्ण योजनाका रुपमा हेरिएको पञ्चेश्वर आयोजनाका बारेमा पनि बृहत ढंगले छलफल गरी नयाँ समझ्दारी गर्ने तयारी गरिएको जनाइएको छ । यी लगायत आधा दर्जन महत्वपूर्ण समझ्दारीपत्रमा हस्ताक्षर हुने श्रोतको दाबी छ ।

यस्तो छ प्रधानमन्त्री देउवाको भ्रमण तालिका
बुधबार: बिहान प्रधानमन्त्री नयाँदिल्ली प्रस्थान

दिउँसो भारतीय सत्तापक्ष र प्रतिपक्षी दलका नेतासँग भेट
साँझ दिल्लीस्थित दूतावासको कार्यक्रममा सम्बोधन

बिहीबार: भारतीय उच्च राजनीतिक तहमा भेटवार्ता
भारतीय राष्ट्रपतिसँग भेट, भारतीय प्रधानमन्त्री मोदीसँग एकल र सरकारी तहमा वार्ता
भारतीय सरकारका मन्त्री र देउवाबीच भेट

शुक्रबार: भारतीय थिंकट्यांक र व्यापारीसँग छलफल
हैदरावाद गई त्यहाँको सूचना प्रविधि पार्क अवलोकन
तिरुपति दर्शन

शनिबार: बिहार भ्रमण

आइतबार: स्वदेश फिर्ता