राजनीति

यस्तो छ, राष्ट्रपति भण्डारी र तीन दलका शिर्ष नेताहरुको गम्भिर छलफल

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका नेताको ध्यानाकर्षण गराएकी छन् । भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज सत्तासाझेदार दल नेपाली कांग्रेस–माओवादी र प्रमुखप्रतिपक्षि दल नेकपा एमालेका शिर्ष नेतासंग भण्डारीले छलफल गरेकी हुन् ।

उनले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् । भण्डारीले बाढी तथा पहिरो पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन पनि शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले शीर्ष नेतासँगको बैठकमा वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउन जोड दिएकी छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई÷मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए । साथै शीर्ष नेताले तराई÷मधेशका डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भई जुटिरहेको, आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

छलफलमा नेकाका सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा–एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।

तराई/मधेशका डुबानका कारण हालसम्म १३५ जनाको अकालमा मृत्यु भइसकेको छ । हजारौँ घर डुबान, ती क्षेत्रका ८० प्रतिशत भूभाग जलमग्न भएका छन् । सरकारले बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिँदै तत्काल बाढीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार दुईलाख रुपैयाँ, विपन्न परिवारलाई १५ हजार रुपैयाँ तथा दैनिक खानाका लागि ७० रुपैयाँ वितरण कार्य दु्रतरुपमा जारी राखेको जनाएको छ ।

राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीचमा दुई घण्टा छलफल भएको थियो ।