शिक्षा

दुर्गमका ६ वटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान

सोलुखुम्बु, ३ भदौ । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ ।

सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने बानीमा विकास हुन थालेको विद्यालयले बताएका छन् ।

फिलर्स नेपालको सहयोगमा सोलुखुम्बुका छवटा विद्यालयमा पुस्तकसहितको पुस्तकालय तयार गरेपछि बालबालिकाले रमाइलोसँग पढ्न थालेका हुन् । गाउँगाउँमा रहेका विद्यालयमा कसरी राम्रो किताब पु¥याउन सकिन्छ भन्ने उद्देश्यले पहिलो चरणमा सोलुखुम्बुका छवटा विद्यालयलाई करिब ५०० थान किताब सहयोग गरेको संस्थाकी प्रमुख याङकी शेर्पाले जानकारी दिए ।

सोलुखुम्बु घर भएकी शेर्पाले ग्रामीण भेगका विद्यालयमा कक्षागतबाहेकका किताब उपलब्ध नहुने र विद्यार्थीले त्यस्ता किताब पढ्न नपाउने सुनेपछि आफूलाई सहयोग गर्न लागेको बताए । भौगोलिक विकटताले गाउँका बालबालिका धेरै सुविधाबाट वञ्चित छन् जसमा आफूले चाहेजस्तो किताब पढ्न नपाउँदा विद्यार्थीको चौतर्फी विकासमा असर पर्दछ– उनले भने ।

विद्यालयमा विद्यार्थीको संख्या हेरि ५० देखि ८० थानसम्म किताब विद्यालयलाई प्रदान गरिएको छ । बालबालिकालाई लक्षित नेपाली र अङ्ग्रेजी भाषाका राम्रा राम्रा किताब विद्यालयलाई दिइएको शेर्पाले बताए। रासस