विशेष

कांग्रेस नेता डा.शेखर कोइराला एउटा महत्वपूर्ण परीक्षामा उत्तीर्ण भए !

काठमाण्डौ । नेपालको पूर्वदेखि पश्चिमसम्मको पूरै तराई–मधेस क्षेत्र केहीदिन अघि आएको बाढीका कारण तहसनहस जस्तै भएको छ । अघिल्लो शनिबारदेखि करिब तीनदिनसम्मको अविरल वर्षाले तराई–मधेसका सयौं बस्तीहरु डुबानमा परे । लाखौं सर्वसाधारण प्रभावित बने भने १ सय २० जना भन्दा बढीको ज्यान गयो । दर्जनौ अहिलेसम्म पनि बेपता रहेका छन् ।

मुलुकको महत्वपूर्ण क्षेत्रमा यति ठूलो विपत्ति आइलाग्दा सबै क्षेत्रका मानिसहरुले सहयोग गर्नुपर्छ । यस्तै दुर्घटनामा कुनै पनि मानिसको परीक्षा हुने गर्दछ, त्यसमा पनि मुलुक हाँक्ने नेताहरुको परीक्षा हुने गर्दछ ।

यसै सिलसिलामा मुलुकमा आइलागेको यो विपत्तिमा एउटा उदाहरणीय काम गरेर एकजना राजनीतिक नेता, जसले सबैभन्दा बढी जनताको सेवा गरेर आफुलाई यो मुलुकका योग्य र इमान्दार नेता भएको प्रमाणित गरिदिएका छन् । ती नेता हुन् नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला । नेपाली कांग्रेसमार्फत राजनीतिक क्यारियर सुरु गर्नुअघि पेशाले चिकित्सक रहेका डा.कोइरालालाई त्यसबेला आफुले अप्नाएको पेशाको अनुभव यो पटकको संकटमा निकै काम लाग्यो ।

उनले पूर्वी तराईका विराटनगर लगायतका क्षेत्रहरुमा हज्जारौं बाढी पीडितहरुको स्वास्थ्य परीक्षण गरे । मोरङ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा प्रतिनिध्त्वि गर्ने डा.कोइराला आफ्नो जिल्ला डुबान परेको सुनेलगत्तै सेनाको हेलिकोप्टरमार्फत डुबान क्षेत्रमा पुगे र जनताको सेवामा समर्पित भइरहे ।

उनी अहिले पनि डुबान क्षेत्रमा निरन्तर जनताको सेवामा खटिरहेका छन् । डुबान क्षेत्रमा खटिरहेका उनले जनताको सेवामा समर्पित हुन पाउँदा छुट्टै आनन्दको अनुभूति भएको बताउने गरेका छन् । बाढी आएलगत्तै विराटनगर पुगेका उनले सुरुमा त्रिपाल, टेन्ट लगायतका भौतिक सामाग्री जुटाउने कामको नेतृत्व गरे ।

त्योसँगै उनले डुबान क्षेत्रमा समस्यामा परेका बस्तीका जनतालाई उद्धारका लागि नेतृत्व गरे । उनले आफैले त्रिपाल र बोटको व्यवस्था गरेर जनतालाई उद्धार गरेका थिए । अहिले उनी बाढीपछि फैलिन सक्ने रोगको महामारीलाई मध्यनजर गर्दै जनताको उपचारमा केन्द्रीत छन् । उनले स्थानीय सर्वसाधारणलाई यसतर्फ सचेत हुन समेत आग्रह गरिरहेका छन् ।

मुलुकमा राजनीतिक नेताहरुमा इमान्दारिता र जनताप्रति सर्मपित हुने संस्कार फिक्का हुँदै गइरहेको बेला कांग्रेस नेता कोइरालाको जनताप्रतिको यो समर्पणले मुलुकका सबै राजनीतिक दलका नेताहरुलाई ठूलो पाठ सिकाएको छ । उनीबाट अन्य नेताहरुले धेरै कुरा सिक्नुपर्ने देखिएको छ । यद्यपि, डा.कोइरालासँगै अन्य दलका नेताहरु पनि बाढी क्षेत्रमा गएर जनताको उद्धारमा त लागेका छन्, तर उनीहरुले सुरुमै डा.कोइरालाको जति पहल लिन सकिएको देखिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता शंकर पोख्रेल लगायतका नेताहरुले पनि डुबान क्षेत्रमा प्रत्यक्ष रुपमा गएर खटिएको देखियो, तर डा.कोइराला निकै बढी खटेको देखियो । नेता कोइराला बस्तीहरुमा बाढी पसेलगत्तै सो क्षेत्रमा पुगेका थिए भने अन्य नेताहरु एक दुई दिनपछि मात्र राहत र उद्धारमा खटेका थिए ।

यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेसभित्र एउटा इमान्दार र सच्चा राजनीतिज्ञको रुपमा डा.कोइरालाको उदय हुँदैछ । यो कुरा डा.कोइरालाको जनताप्रति समर्पित हुने पछिल्लो व्यवहारले पुष्टि गरिदिएको छ । उनी जनताको सेवामार्फत यो पटकको परीक्षामा पनि उत्तीर्ण भएका छन् ।