खेलकुद

ओलम्पियन गौरिकालाई ६ स्वर्णपदक

काठमाडौँ । बीसौँ राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित ६ स्वर्ण हात पारेकी छिन् ।ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा आज भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सब विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् । प्रतियोगितामा उनले ६ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।

बिहीबार भएको पहिलो प्रतियोगितामा गौरिकाले दुई स्वर्ण जितेकी थिइन् । शुक्रबार भएको दोस्रो तथा अन्तिम खेलमा उनले तीन कीर्तिमानसहित चार स्वर्णपदक हात पारेकी हुन् ।

उनले सय मि फ्रिस्टायल, सय मि बटरफ्लाई र ५० मि फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मि मिक्स फ्रि रिलेमा नेपाल आर्मीका अनुभव सुब्बा, दिलप्प थापा मगर र ओसिना भारतीसँग मिलेर स्वर्ण जितिन् । उनले पहिलो दिन दुई सय मि फ्रिस्टायल र ५० मि बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

उनले रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाएकी थिइन् । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पुरस्कार प्रदान गरेका थिए ।