राजनीति

सरकारले बाढी पीडितलाई ७० रुपैयाँ दिने ! सप्तरी पुगेका शेष घलेले के भने ?

काठमाण्डौ, २ भदौ । सरकारले बाढी प्रभावितहरुलाई नयाँ योजना स्वरुप एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ । यसका लागि १ अर्ब निकासा भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँका दरले एक महिनाको रकम एकमुष्ट उपलब्ध गराइने बताए । ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या हुँदैन’ मन्त्री शर्माले भने, ‘प्रतिब्यक्ति ७० रुपैयाँको दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आंकलन गरेका छौं ।’

प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भएमा खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था मिलाउने उनले बताए । बढी प्रभावित जिल्लाहरुमा आवश्यकता अनुसार त्रिपाल वितरण गरिएको पनि मन्त्री शर्माले बताए ।

गृह मन्त्रालयका अनुसार बाढीका कारण १३५ जनाको मृत्यु भएको छ भने ३५ बेपत्ता भएका छन् । रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएका छन भने अन्य बेपत्ताहरुको खोजी भइरहेको गृहमन्त्री शर्माले बताए ।

विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा ब्यक्तिहरुलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले प्रभावित क्षेत्रमा राहत वितरणमा बन्देज नलगाइएको स्पष्ट पारे ।

प्रभावितलाई सहयोग गर्ने नाममा नेपाल भित्र र बाहिर समेत बैंक खाता खोलिएको जानकारी प्राप्त भएको भन्दै मन्त्री शर्माले ब्यक्तिगत रुपमा कसैले खाता खोल्न नपाउने बताएका छन् ।
गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा पुनर्निमाणको काम छिट्टै थालिने समेत बताएका छन् ।

यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले सप्तरीको बाढीपीडितको अवस्थाबारे जानकारी लिएका छन् ।

संघका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेसँग भेटघाट गरी बाढीपीडितको अवस्थाबारे जानकारी लिएका हुन् । एनआरएनएका पदाधिकारीहरुले जिल्लामा बाढीले र्पुयाएको क्षति, मानवीय क्षति, तत्काल बितरण गर्नुपर्ने राहतका सामग्री सहितका बिषयमा जिज्ञासा राखेका थिए ।

भेटमा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा बाढीले र्पुयाएको अपुरणीय क्षतिको बिषयमा जानकारी दिदैं प्रारम्भिक तथ्यांकबारे जानकारी गराए । उनले जिल्लामा एक लाखभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएको भन्दै यकिन तथ्यांक संकलनको काम भइरहेको बताए ।

संघका अध्यक्ष घलेले एक नेपालीलाई समस्या पर्दा अर्काेले सहयोग गर्नुपर्ने भन्दै आफूहरु समस्यामा परेका सप्तरीबासीलाई सहयोग गर्न आएको बताए । उनले जिल्लाका चार हजार बाढीपीडितलाई राम्रो र गुणस्तरीय राहत बितरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

साथै उनले बाढीपीडितहरु भएको ठाउँमा स्वास्थ्य शिबिर समेत संचालन गरिने बताएका छन् । सप्तरीबासी बाढीपीडितलाई सहयोग गर्ने बिषयमा गृहमन्त्री जनार्दन शर्मासँग छलफल भइसकेको बताउँदै उनले मंगलबारदेखि संघ सप्तरीमा केन्द्रित हुने बताए । उनका अनुसार बाढीपीडितहरुलाई चामल, दाल, नून, तेलसहितका खाद्य सामग्री र त्रिापलका साथै अन्य सामग्रीहरु बितरण गरिनेछ ।