खेलकुद

आजदेखि साफ च्याम्पियनसिप सुरु हुँदै

काठमाडौँ । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल प्रतियोगिता, साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमने सामने हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रशिक्षक श्रेष्ठले अन्य टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई पराजित गरेर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य रहेको बताए । उनले अर्को महिना नेपालमै हुने एएफसी १६ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिताले सहयोग पुग्ने भनाइ व्यक्त गरे ।

नेपाली टोलीका कप्तानमा रोशन थापा मगर छन् । टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका हुन् । समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल भने शनिबार माल्दिभ्ससँग खेल्दै उद्घाटन गर्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् । त्यस्तै समूह ‘ए’मा भने बंगलादेश, भुटान र श्रीलंका छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गत वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गर्न लागेको हो ।