राजनीति

५२ बर्षे कोसी ब्यारेज जिर्ण बन्दै : भारतसंगको सम्झौता खारेज गर !

काठमाण्डौ, १ भदौ । सुनसरीको सप्तकोसी ब्यारेज निर्माण भएको ५२ वर्ष भएको छ । २०२२ सालमा ब्यारेज निर्माणभएपछि नेपालको धेरै जसो भूभाग बर्षेनी डुवानमा पर्ने गरेको छ । जसका कारण धेरै नेपालीले घरबास नै गुमाएका छन् ।

५० बर्ष आयु रहेको यो ब्यारेजको मिति सकिएको दुई बर्ष भइसक्यो । तर यसबारे राज्यले कुनै चासो लिन सकेको छैन । वि.स. २०२२ सालमा निर्माण भई सञ्चालनमा आएको कोसी ब्यारेजको आयु २०७२ सालमै सकिएको हो ।

सामान्यतः यस्ता ब्यारेजको आयु ५० वर्ष मात्र हुने गर्दछ । कोसी सम्झौता अनुसार कोसी ब्यारेजको म्याद सकिना साथ अर्काे ब्यारेज बनाउने सहमति भए पनि भारतले भने जीर्ण कोसी ब्यारेजको पुनःर्निर्माण गरेको छैन ।

भारतले बनाएको ब्यारेजका कारण धेरै नेपालीले दुःख पाएको भन्दै अहिले सुनसरी र सप्तरीका स्थानीयले तत्काल सम्झौता खारेज गर्न माग गरिरहेका छन् । नेपालको हित विपरित रहेको कोसी सम्झौता खारेजी गरी कोसी आसपासका वासिन्दाको जीवन गुजारालाई सहज बनाईदिन स्थानीयले माग गरेका छन् । जीर्ण कोसी ब्यारेजको पुनःर्निर्माण नगरी भारतले धराप थापेर नेपालीलाई त्रसित बनाइरहेको उनीहरुको आरोप छ । हुन त यसअघि पनि बिभिन्न पार्टी समूहले पनि ब्यारेज निर्माणबारेको भारतसंगको सम्झौता खारेज गर्न पटक–पटक माग गर्दै आएका थिए ।

त्यसो त एक बर्ष अघि आतंकबादी संगठन आइएसले ५० वर्षभन्दा पुरानो कोसी ब्यारेज उडाई दिने धम्की दिएका भन्ने समाचार पनि आउका थिए । त्यसपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

कोसीमा ब्यारेज बनेयता २० हजार नेपालीले घरखेत गुमाइसकेका छन् । त्यसमा पनि राहत र क्षतिपुर्ति अहिलेसम्म सरकारदे दिलाउन नसकेको भन्दै स्थानीयले राहतका लागि पहल गरिदिनसमेत सरकारलाई आग्रह गरेका छन् । नेपाल सरकार कमजोर भएकाले पनि भारत सरकारको हेपाह प्रबृति बढेको स्थानीयको बुझाइ छ । उमेर पुगिसकेको ब्यारेज कतिबेला के हुने हो टुंगो नभएको भन्दै सरकारको यस तर्फ ध्यान जान नसक्नु बिडम्बना भएको उनीहरु बताउँछन् ।

जीर्ण बनेको कोसी व्यारेजका फलामका रेलिङ खिया लागेर काम नलाग्ने भएका छन् भने आरसीसी ढलान पिल्लरहरु कमजोर बन्दै गएकाले यातायातका साधन सञ्चालन हुँदा ब्यारेज नै हल्लिन थालेको छ ।

कोसी सम्झौताअनुसार सप्तकोसी नदीले विस्तापित बनाएकाहरुलाई भारतले उचित क्षतिपूर्ति र राहत दिनुपर्ने उल्लेख गरिए पनि ५२ बर्ष वितिसक्दा समेत कोसी पीडितले कुनै राहत र क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

२०११ सालमा नेपालका तत्कालिन राजा महेन्द्र शाह र भारतका तत्कालिन प्रधानमन्त्री जहरुलाल नेहरुबीच भएको दुईपक्षीय कोसी सम्झौताअनुसार सप्तकोसी नदीमा ५६ ढोके ब्यारेजको निर्माण गरिएको थियो ।