राजनीति

प्रचण्डसहित दुईमन्त्री बाढीग्रस्त क्षेत्र सप्तरीमा

सप्तरी, ३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले आज बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गरेका हुन् । हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर–कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरेका हुन् ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुनस्र्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने बताएका छन् । बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै उनले राहतमा कुनै कमी हुन नदिने बताए ।

तराई–मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै उनले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताए ।

बाढीको निरीक्षण गर्न आएका गृहमन्त्री जनार्दन शर्माले सरकारसँग सामग्रीको कुनै समस्या नभएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार इमान्दारीपूर्वक बाढीपीडितका लागि काम गरिरहेको बताए । मन्त्री शर्माले राहतको कमी नहुने भन्दै पाल, खानेकुरा सामग्री पर्याप्त भएको तर, केहि ठाउँमा बाटो नहुँदा वितरणमा ढिलाई भइरहेको बताए ।

सरकारका सबै संयन्त्रले बाढीपीडित क्षेत्रमा काम गरिरहेको भन्दै उनले कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मीहरु पनि व्यापक परिचालन गरिएको बताए ।

निरीक्षण टोलीमा आएका आपूर्ती मन्त्री शिवकुमार मण्डलले बाढीपीडितका लागि चामलसहितका सामग्रीको कुनै कमी नभएको बताए । चामलसहितका तत्कालै पठाउनुपर्ने सामग्रीहरु पठाइसकिएको बताउँदै उनले समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको जानकारी दिए ।