स्वास्थ्य

आयुर्वेद अनुसन्धान विस्तारमा सघाउन चीनसामू सरकारको आग्रह !

काठमाण्डौ, ३२ साउन । नेपालले चीनसामू राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजनामा सघाउन प्रस्ताव गरेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेका छन् । त्यसक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजना रहेको भन्दै सहयोगको प्रस्ताव राखेका छन् ।

सो प्रस्तावप्रति चीन वाङ सकरात्मक रहेको स्वास्थ्य मन्त्री पोखरेलले जानकारी दिएका छन् । उनले यसबारे उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महाराको चीन भ्रमणमा थप कुराकानी हुने बताएका छन् ।

मन्त्री पोखरेलले आफू अघिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा राखेको जिल्ला अस्पताल निर्माणमा सहयोग गर्ने प्रस्ताव पनि स्मरण गराएका छन् । पोखरेलका अनुसार त्यसबेला चिनियाँ समकक्षीसमक्ष ७ अर्बको योजना प्रस्ताव गरिएको थियो । त्यसबेला चिनियाँ समकक्षीले प्रक्रिया अनुसार प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

स्वास्थ्यमन्त्री पोखरेलले भरतपुर क्यान्सर अस्पताललाई जनशक्ति उत्पादन केन्द्रका रुपमा अघि बढाउनेबारे पनि चिनियाँ उपप्रधानमन्त्रीसँग छलफल भएको बताएका छन् ।