समाचार

राजधानी र पोखरा पछि अब चितवनमा पनि भोलिदेखि हर्न निषेध

चितवन, ३२ साउन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ ।

ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार साउन १७ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा ट्राफिक व्यवस्थापनका विषयमा बसेको बैठकले भदौ १ गतेबाट भरतपुर र नारायणगढ क्षेत्रमा हर्न निषेध गर्ने निर्णय गरिएको थियो ।
पन्तकाअनुसार त्यसयता स्थानीय सञ्चारमाध्यमका साथै सिटी बसको ¥याली र स्टिकरलगायतबाट प्रचार गरिएको छ ।

चर्को आवाजका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै राजधानी, पोखरापछि चितवनमा अब सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई रु पाँच सय, दोस्रो पटकलाई रु एक हजार र तेस्रो पटकका लागि रु एक हजार पाँच सय जरिवाना असुल गरिने भएको छ ।