पर्यटन/संस्कृति

होमस्टेले जीवनस्तर फेरियो, ५० हजार भन्दा बढि मासिक आम्दानी

नवलपरासी, ३० साउन । होमस्टे (घरबास) व्यापारबाट यहाँका थारु, माझी, बोटे र मुसहर समुदायका बासिन्दाको जीवनस्तर अपेक्षित रुपमा फेरिएको छ ।

कावासोतीको अग्र्यौली, रजहर प्रिपहनीमा स्थापना भएका होमस्टे सञ्चालनमा आएपछि यहाँ आउने आन्तरिक र बाह्य पर्यटकको संख्यामा बृृद्धिसँगै यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको छ ।

पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्र्यौली र प्रिपहनी गाउँलाई पर्यटकको केन्द्र बिन्दु बनाइ सञ्चालनमा आएको होमस्टे आम्दानीको राम्रो स्रोत बनेको छ ।

प्राकृतिक रुपमा रमणीय क्षेत्र मानिने चितवन राष्ट्रिय निकुञ्जको अवलोकन, हात्ती सफारी गरी वन्यजन्तुको निरीक्षण गर्दै पर्यटकलाई लोभ्याउन सकिने यहाँका प्रमुख आकर्षणको केन्द्र बिन्दुका रुपमा रहेकाले यहाँका होमस्टे राम्रो आयआर्जनका माध्यम बनेका अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनियाँ थारु बताउँछन् ।

स्थानीय कला संस्कृतिको विकास प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएका होमस्टेमा आउने पर्यटकलाई नारायणी नदीमा डुंगामा यात्रा समेत गराइन्छ । होमस्टेका कारण थारु, माझी, बोटे र मुसहर समुदायको आर्थिक अवस्थामा सुधार आएको अग्र्यौली मध्यवर्ती होमस्टेका सञ्चालक धनमायाँ महतोले बताईन् ।

अग्र्यौलीमा तीन वर्ष अघि र प्रिपहरमा भर्खरै होमस्टेको शुरुवात भएको हो । पर्यटकको आगमनसँगै यहाँका बासिन्दाको आम्दानी समेत बढेको छ । होमस्टे सञ्चालनमा आएपछि प्रतिपरिवारले मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका अध्यक्ष थारुले बताए । यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरी राख्ने व्यवस्था मिलाइएको छ । पाहुनाको रोजाइ अनुसारको चिचर, माछा, घोँगी, कुखुरा, हाँसको मासु र छोयलालगायत परिकार बनाइन्छ ।

आम्दानी भएको रकम एकमुष्ठ समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे सञ्चालकलाई दिइने गरिन्छ । दश प्रतिशत रकम विकास निर्माण र समाजसेवामा खर्च गरिँदै आएको होमस्टे व्यवस्थापक धनिराम चौधरीले बताए ।

होमस्टेबाट पर्यटकीय क्षेत्रको विकासमा ठूलो टेवा पुगेको छ । कावासोतीको अग्र्यौलीमा करिब ८० वटा घरमा तथा रजहर प्रिपहनीमा करिब २० वटा घरमा होमस्टे रहेका छन् । एक पटकमा करिब ३०० जनासम्म पर्यटकलाई होमस्टेमा राख्न सकिने अवस्था छ ।