उर्जा

बाढी पहिरोको क्षति मूल्यांकन गर्न केन्द्रीय अनुगमन टोली

काठमाडौँ, २९ साउन । सरकारले अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न सञ्चालक समितिका सदस्यको संयोजत्वमा केन्द्रीय अनुगमन टोली गठन गरेको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणका सम्पूर्ण संरचनामा पुगेको क्षति मूल्यांकन गर्न उच्चस्तरीय अनुगमन टोली गठन गरिएको जानकारी दिए ।

ऊर्जा मन्त्रालयमा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले चार क्षेत्रमा मुलुकलाई विभक्त गरी पूर्वाञ्चलमा सञ्चालक समिति सदस्य चेतराज जोशी, मध्यमाञ्चलमा उमेश थानी, मध्यपश्चिमाञ्चलमा चन्द्र टण्डन, सुदूरपश्चिममा भक्तबहादुर पुनको संयोजकत्वमा प्राधिकरणका उपकार्यकारी निर्देशक र स्थानीय क्षेत्रीय प्रमुखहरु, इञ्जिनियरहरु सदस्य रहेका छन् ।
उक्त अनुगमन टोली सोमबारदेखि नै बाढी प्रभावित क्षेत्रमा परिचालित हुनेछन् ।

सात प्रदेशमा नै क्षेत्रीय कार्यालय

प्राधिकरणले मुलुकको संघीय संरचनाअनुसार नै प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हाल प्राधिकरणका आठवटा क्षेत्रीय कार्यालय रहेका छन् । प्रदेश नं ३ मा दुईवटा क्षेत्रीय कार्यालय रहेका छन् । दुईवटा कार्यालय रहेकामा ती भने गाभिनेछन् । नयाँ कार्यालयका रुपमा प्रदेश नं ६ को सुर्खेतमा नयाँ कार्यालय स्थापना हुनेछ ।

त्यस्तै, जाजरकोटमा केन्द्रीय प्रसारण लाइन जोडिएकामा सो जिल्लामा प्राधिकरणको कार्यालय स्थापना गरिने भएको छ ।

ऊर्जामन्त्री शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका क्रममा भारतीय पक्षबाट निर्माण भएका बाँधका कारण परेको डुबानका बारेमा कुराकानी हुने जानकारीसमेत दिए ।

मन्त्री शाहीले भने, “भारतका कारण परेको समस्या समाधानका विषयमा कूटनीतिक तहमा छलफल भएको र कोशी ब्यारेजको ढोका खोलिएको छ । यस्तै भारतले सीमा क्षेत्रमा निर्माण गरेका तटबन्ध तथा सडकका कारण पनि समस्या पैदा भएको देखिएकाले त्यसलाई समाधान गर्न पहल गरिन्छ ।”

फरक एक प्रश्नमा ऊर्जासचिव अनुपकुमार उपाध्यायले विद्युत् व्यापारका सम्बन्धमा भारत सरकारले अगाडि सारेको निर्देशिकाका सम्बन्धमा नेपाल सरकारले आफ्नो धारणा प्रस्ट रुपमा पठाइसकेको जानकारी दिए ।