समाचार

बाढी र पहिरोमा ६४ जनाको ज्यान गयो, थप क्षति हुनबाट बचाउ : मानवअधिकार आयोग

काठमाण्डौ, २९ साउन । देशमा बाढी र पहिरोमा परेर ५० भन्दा धेरैले ज्यान गुमाइसकेपछि राष्ट्रिय मानवअधिकार आयोगको ध्यान खिचिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत कार्यमा अविलम्ब जुट्न सरकारलाई नै आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको आवश्यकताअनुसार खोज, उद्धार र राहत कार्यमा लाग्न सरकार तथा सरोकार पक्षलाई आग्रह गरिएको छ ।

अहिलेसम्म विपद्बाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भएको, ४४ जना घाइते भएका, ३६ जना बेपत्ता भएका, करिब १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घर पूर्णरुपमा क्षति भएका तथा दुई हजार १ सय ५३ घर आंशिक क्षति भएकामा आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

हजारौँ प्रभावित व्यक्ति राहत र उद्धारको पर्खाइमा रहेको पाएको जनाउँदै आयोगले विपद् व्यवस्थापन र मानवीय सहायतामा खट्ने नेपाल सरकार, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई तत्काल प्रभावकारी कदम चालेर प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिको उद्धार र राहत कार्य तत्काल जुट्न विशेष आग्रह गरेको छ ।

प्राकृतिक विपद्पछि देखापर्नसक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट बच्न चिकित्सकको अस्थायी टोलीको तत्काल व्यवस्था गर्न र बाढीपहिरोका कारण आउनसक्ने खतराबारे नियमितरूपमा नागरिकलाई सूचना प्रवाह गर्न पनि आयोगले सरकारको ध्यान आकृष्ट गरेको छ ।