मनोरञ्जन

राहतमा जुटे कलाकार, क–कस्ले के गर्देछन् !

काठमाण्डौ, २९ साउन । बाढी पीडितको राहतका लागि अन्ततः कलाकर्मीको पहल शुरु भएको छ । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।

पछिल्लो समय भुकम्प प्रभावित क्षेत्रमा नमूना वस्ती बनाइसकेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् । उनीहरु आइतबार बिहान नै महोत्तरीतर्फ प्रस्थान गरिसकेका छन् ।
धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउँदै तत्कालै काम सुरु गर्ने बताए । उनले आफु बर्दिवास पुग्नेवित्तिकै राहत टिम पीडितसमक्ष पुग्ने बताए ।

फाउण्डेसनले व्यक्तिगतरसंस्थागत सहयोगका लागि औपचारिक अपिल गरिसकेको छ । बाढीपीडितको सहयोगका लागि प्रतिबद्धताहरु आउन सुरु भएको पनि धुर्मुसले बताए ।

यस्तै काठमाडौंमा गाईजात्रे कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका छन् । गजुरेल उपाध्यक्ष रहेको हास्य कविरकलाकारको संस्था सिस्नुपानी नेपालले संस्थागत राहतको तयारी गरेको छ ।

यसैगरी कलाकार दीपकराज गिरीले बाढी पीडितका लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । फिल्म निर्देशकसमेत रहेकी हास्य कलाकार दीपाश्री निरौलाले मोरङ समाजमार्फत ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् ।

अभिनेत्री प्रियंका कार्कीले पनि तराईका बाढी पीडितका लागि ५१ हजार रुपैयाँ दिने घोषणा गरेकी छन् । उनले उद्दार र राहतमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेकी छन् ।
अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।