राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणः ‘देउवाले भारतसँग चाबी माग्न सक्लान् ?’

काठमाण्डौ । यसबेला मुलुकका तराई–मधेस र पहाडकै केही भूभाग बाढी,पहिरो र डुबानमा परेर तहसनहस भैरहेको अवस्था छ । विशेषगरी तराई–मधेस बाढीका कारण निकै आक्रान्त भएको देखिन्छ । डुबानकै कारण अहिलेसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते र हज्जारौं घरबार बिहिन भएका छन् । पूर्वको कोसीदेखि पश्चिम राप्तीसम्मका नदीहरु एकैपटक तराई मधेसको समथरमा भूभागमा हेलिएका छन् ।

जसका कारण तराई मधेसका लाखौं सर्वसाधारणको यसबेला बिजोग देखिन्छ । तर तराईलाई आफ्नो पार्टीका सबैभन्दा बढी समर्थक र मतदाता भएको क्षेत्र भनेर घोषणा गर्ने राजनीतिक दल र उनका नेता र कार्यकर्ता अहिले के गरेर बसेका छन् कुनै अत्तोपत्तो छैन । शनिबारदेखि तराई–मधेसका नदीहरुमा पानीको बहाब ह्वात्तै बढेपछि एकैसाथ डुबान हुन सुरु भएको थियो ।

दर्जनौ सर्वसाधारणको मृत्यु भैसक्दा केही राजनीतिक दलहरुले विज्ञप्ति निकालेर सहानुभूति प्रकट गरिरहेका छन् भने सरकार बाढी न्यूनीकरण गर्ने भन्दै भारत सरकारसँग भएको ब्यारेजका ढोकाका चाबी माग्ने र खोल्न आग्रह गरिरहेको छ । वास्तवमा यो के हो ? नेपालका नदी नालाहरुमा पानीको बहाब बढेर आफ्ना देशका जनताको उठिबास भैरहँदा ब्यारेजका ढोकाहरु खोल्न भारतको भर पर्नुपर्ने अवस्था किन आयो ? कोशी, राप्ती लगायतका नदीहरुसँग जोडिएका ब्यारेजका ढोकाको चाबी भारत सरकारले कब्जामा राखेको छ । जसका कारण नेपाललाई ठूलो समस्या देखिलै आएको छ ।

जब नेपालको तराई–मधेस क्षेत्र डुब्न सुरु हुन्छ, भारतसँग हारगुहार गर्नुपर्छ । हारगुहार गरेर ती ढोका खोल्दा–नखोल्दै नेपाली भूभाग डुबिसकेको हुन्छ । नेपाल सरकारले आग्रह गर्दा नगर्दै ठूलो धनजनको क्षति भैसकेको हुन्छ । यो बिडम्बना नेपालले विगतदेखिनै बेहोर्दै आइरहेको छ ।

विगतमा भएको नेपाल–भारत सम्झौतामा ब्यारेजका ढोकाहरुको चाबिचाहि भारतले राख्ने र नेपालको आग्रहपछि मात्र खोल्ने सहमति भएको देखिन्छ । यो सवालमा नेपालले भारतसँग गरेको सम्झौता तत्काल नवीकरण गर्नुपर्ने देखिन्छ ।

यसअघि पनि बेला–बेलामा कोशी र लक्ष्मपुर बाँधको विषयमा कुरा नउठेको होइन तर भारतले नेपालका हातमा चाबी दिँदा बिहारलाई थप समस्या पर्ने भन्दै चाबी आफ्नो कब्जामा पारेको देखिन्छ । नेपालको हातमा ब्यारेजका चाबी परे आफ्नो खुसीले ढोका खोलिने र नेपालतर्फ हुने डुबानको दुर्दशा बिहारतिर सर्ने भारतलाई थाहा छ । त्यसकारण पनि भारतले नेपाललाई ब्यारेजका ढोकाको चाबी दिन नचाहेको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्रीले भारतसँग छलफल गर्नुपर्छ !
तराई क्षेत्र बाढीले तहसनहस भइरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजकीय भ्रमण गर्दैछन् । यो भ्रमणमा नेपाल र भारतबीच विगतमा भएका सम्झौताहरुमा देखिएका समस्याका बारेमा समेत छलफल हुने देखिदैछ ।

ती विषयहरुमा सप्तकोशी र लक्ष्मणपुर लगायतका बाँधमा देखिएका समस्या र त्यसले नेपालतर्फ पार्ने प्रभावका विषयमा समेत गम्भीर छलफल गर्नुपर्ने जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री देउवाले कोशी ब्यारेजका ढोकाका चाबी भारत सरकारसँग माग्न अब कन्जुस्याई गर्नुहुँदैन । अबचाहि भारतसँग चाबी माग्न प्रधानमन्त्री देउवाले साहास गर्नैपर्छ । तराई–मधेसको डुबानको समस्या भारतले समेत झल्झली देखिरहेको यथार्थता जगजाहेर छ । प्रधानमन्त्री देउवाले भारतलाई यो विषयमा चर्को दबाब दिए, उ सम्झौता नवीकरण गर्न तयार हुन सक्छ ।

वास्तवमा वर्षायाममा नेपालतर्फको तराई–मधेसका भूभाग डुब्नुमा भारतकै हात रहेको देखिन्छ, किनभने सो क्षेत्रका सबैभन्दा खतरा र डुबानमा पारिदिने नदीहरुको जलप्रवाहलाई नियन्त्रण गर्ने साँचो नै भारतको हातमा परेपछि नेपाललाई ठूलो समस्या भएको हो ।

यो बारेमा नेपालले विगतमा जस्तै फेरि एकपट भारतलाई झक्झक्याउन जरुरी छ । यदि भारतसँग यो विषयमा कुरा गर्न नेपाल यो पटक पनि चुक्यो भने थप समस्याहरु देखिदै जानेछन्, जसका कारण तराई–मधेस वर्षेनी दुःखमा परिरहने निश्चित छ ।