स्वास्थ्य

छलफल मात्रै कि, सहमति पनि गर्ने सरकार ! डा. केसीको समर्थनमा देशभरका अस्पतालको सेवा ठप्प !!

काठमाण्डौ, २७ साउन । ११ औ पटकको १९ दिनमा आज शुक्रबार पनि डा. गोविन्द केसीको अनशन जारी छ । आमरण अनशनमा रहेका डाक्टर केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

केसीले उठाएका माग सम्बोधनका लागि दबाव दिँदै सरकारी चिकित्सक संघले बाध्य भएर सेवा बहिष्कार गर्नुपरेकाले यसबाट पुग्ने असुविधाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने पनि जनाएको छ । तर अस्पतालमा हुने बिरामीको चाप र भर्ना भएर बसेका बिरामीको उपचार तथा सहयोगका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने संघको भनाइ छ । ११ औँ पटक अनशनमा बसेको १९ दिन हुँदा समेत सरकारले डा केसीको माग पूरा गर्न भने आलटाल नै गरिरहेको छ ।
यसैबीच, चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन शुक्रबार पनि संसदीय समितिमा छलफल हुने भएको छ । हिजो बिहीबार संसदको महिला बालबालिका तथा समाज कल्याण समितिको पूर्ण बैठकमा विधेयकमाथि छलफल चलिरहँदा विवाद भएपछि स्थगित भएको थियो । शुक्रबार विहान ८ बजेका लागि बैठक बोलाइए पनि फेरि दिउँसो २ बजेको लागि सारिएको छ । विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले चिकित्सा शिक्षा ऐन पारित हुनुअघि मनशाय पत्र पाएका मेडिकल कलेजले सम्बन्धन पाउने आशयसहित तयार पारेको विधेयकमाथि विवाद भएपछि त्यसलाई मिलाउने प्रयास भइरहेको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।

शुक्रबारको छलफलमा स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई पनि बोलाइएको छ ।