राजनीति

यसरी चल्थ्यो त्यसबेला राजदरबार, राजा वीरेन्द्रसँग जोडिएको एउटा रोमाञ्चक भित्री प्रसंग !

राजा वीरेन्द्र एक महान देशभक्त, विकासवादी प्रजातन्त्रवादी राजा भएकाले नैं विदेशीहरुले सहेनन् । राज्यरोहणदेखि राजा वीरेन्द्रले राष्ट्र निर्माणलाई मूख्य प्रार्थमिकता दिएर बाटो–घाटो, फलफुल खेती, कृषि उत्पादन लगायत स्वदेशी उद्योग धन्दा निर्माण गर्नमा दत्तचित्त थिए । राजा वीरेन्द्रको राज्यभिषेकको बेला बुद्धको जन्मस्थल नेपाललाई शान्तिक्षेत्र घोषणा गरेर विश्वका ११६ राष्ट्रहरुको समर्थन जुटाएका थिए ।

सिक्किमलाई भारतले हडपेपछि बीपी कोइराला राष्ट्रियताको पीडाले राष्ट्रिय सहमतिको नारा लिएर भारतको निर्वासित जीवन त्यागेर नेपाल फर्केका थिए । प्रजातान्त्रिक योद्धा बीपी कोइराला बिमारी भएको जानकारी लिएर बीपीलाई राजदरबारमा झिकाएर सम्मानपूर्वक औषधी उपचारको लागि अमेरिका पठाउने काम गरिएको थियो । बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई साकार बनाउन राजा वीरेन्द्रबाट २०३६ सालमा राष्ट्रिय जनमत संग्र्रहको घोषणा गरेर सबै पक्षलाई राष्ट्रिय राजनीतिमा समावेश गराउन खोजिएको थियो ।

राजा महेन्द्रको २०२८ माघ २८ गते असामयिक दुःखद निधन भयो । राजा महेन्द्रको स्वर्गारोहणपछि राजा वीरेन्द्र राजसिंहासनमा बसे । राजा वीरेन्द्रबाट राजकाज चलाउन थालेपछि जनताको तर्फबाट मलाई २०२९ साल जेष्ठ १ गते दर्शनभेटमा बोलाइयो । मैले प्रमुख सचिव ईश्वरीमान श्रेष्ठबाट दर्शनभेटको खबर पाएपछि आठराईबाट मेरो जेठा दाइ विष्णुभक्तले पठाएको खुकुरी राजालाई उपहार दिन मन लागेर राजदरबार लिएर गएको थिएँ ।

मेरो दर्शन भेटपछि जोगमेहेर श्रेष्ठ र जेष्ठ ५ गते दामोदर शम्सेरको पालो रहेछ । खुकुरी राजालाई सिधै दिन नमिल्ने रहेछ । एडीसीले मलाई बैठकमा आएर ‘हे हजूर खुकुरी मैले सरकारमा चढाए हुन्न ?’ भनेर सोधेपछि ‘मैले आफै दिदा हुँदैन र ? म आफै दिन्छु’ भनेपछि एडीसीले सो कुरा राजालाई बिन्ति गरेपछि राजाबाट स्वीकृति बक्सेको रहेछ ।

मलाई भित्र दर्शनभेटमा बोलाइयो । मैले राजालाई नमस्कार गरेपछि ‘सर्कार आठराईको खुकुरी सरकारमा चढाउन ल्याएको’ भन्दै सरकारको हातमा दिएँ । सरकारबाट खुकरी समातेर झट्ट दापबाट झिक्दै यता र उती हल्लाएर यति छिटो दापमा हालिबस्यिोकि म त छक्क परे । मलाई दापबाट खुकुरी झिकेर त्यसरी दापमा हाल्न धेरैवेर लाग्छ । राजाको कस्तो तालिम हुँदोरहेछ जस्तो लाग्यो । त्यसपछि कुराकानी शुरु भयो । लगभग दुई घण्टा दर्शनभेटपछि मैले आफैले बिदा मागें । राजा वीरेन्द्र अत्यन्त प्रफूल्ल भएको पाएँ ।

त्यो भेटमा मैले राजा महेन्द्रलाई चढाएको राजनीतिक परिचालनको लिखत राजा महेन्द्रको निधनपछि अधुरो जस्तै थियो । त्यही लिखत फेरि राजा वीरेन्द्रमा चढाएँ । प्रमुख सचिव ईश्वरीमानजीले मलाई पछि बोलाएर भन्नु भयो– ‘त्यो लिखत अर्कै प्रकारले परिचालन गर्ने भन्ने हुकुम भएको छ । तपाईबाट युवा विद्यार्थी परिचालन गर्ने अर्को लिखत चाहिबक्सेको छ’ भनेपछि मैले अर्को सुझाव जस्तो लिखत पनि पठाएँ । पहिला पेश गरेको लिखत चाहिं पछि त्यो गाउँर्फ राष्ट्रिय अभियानको मूल्यांकन परिपाटीको संशोधनमा परिमार्जित गरिएको थाहा पाएँ ।

भेटमा मैले सरकारमा डा.तुल्सी गिरिलाई राजनीतिक सरल्लाहकार र डा. के आई सिंहलाई प्रशासकीय सल्लाहकार राखिबक्सिनु पर्छ । दुबैलाई सरकारबाट आफ्नो सल्लाहकार बनाइबक्सेमा सरकारलाई सजिलो हुन्छ’ भनेर बिन्ति गरेपछि सरकारले म तिर हेरेर, के आई सिंह त मान्दैनन् होलान् नी !’ भनेर प्रश्न गरेपछि मलाई थाहा भयो राजालाईको मान्छे कस्तो हो भन्ने राम्रो राजनीतिक जानकारी रहेछ । मैले भने– ‘सरकार संझाउनु पर्छ नी !’ पछि डा. तुल्सी गिरिलाई मात्र राजनीतिक सल्लाहकार बनाइबक्सिएको रेडियोबाट घोषणा भयो । तर मैले चढाएको सल्लाहकारले गर्नुपर्ने कामकुरा कतै उल्लेख नगरी भेटघाटको सल्लाहकार जस्तो मात्र भयो ।

सिंहासनमा बसेपछि राजाले पञ्चायत व्यवस्था मन पराइबक्सन्न भन्ने बाहिर हल्ला सुनिएकाले मैले राजालाई पञ्चायत व्यवस्था सिद्धान्त र व्यवहार भन्ने अंग्रजीमा लेखेको पुस्तक त्यो दर्शन भेटमा चढाएको थिएँ । पुस्तकमा पञ्चायती व्यवस्थाको मूल शत्रु भष्टाचार भएकाले पञ्चायतलाई भ्रष्टाचारबाट जोगाउनसक्नु पर्छ भन्ने सुझावहरु उल्लेख भएकाले पुस्तक चढाएकोमा म संतुष्ट भएँ ।

मैले सरकारमा त्यसबेला एउटा कुरा गरेको थिएँ, ‘सरकार हिमालय सरकार विराटनगर गोल्छाकोमा सवारी भएछ । मान्छेहरुले भन्न लागेका छन् कि राजपरिवारले भत्ता खाएपछि ब्यापार गर्ने होइन । यसो भएपछि राजपरिबार विवादमा पर्नेछ’ उनीहरुले भनेको मैले सुनेको कुरा राजालाई सुनाएँ । मैले बिन्ति गरें–‘ सरकार राजपरिवारले ब्यापार गर्न प्रतिवन्ध लगाउनुपर्छ ।’ मैले बिन्ति विसाएको केही दिनमा राजदरबारबाट एउटा विज्ञप्ति रेडियोबाट प्रसारित भयो कि राजपरिबारका सदस्यहरुले कुनै बन्दब्यापार गर्न नपाउने प्रकारको खबर । त्यो खबर रेडियोमा प्रसारित त भयो तर फेरि कहिले पनि त्यो कुरा दोहोरिएन ।  -दीर्घराज प्रसाईं (यो लेखकको नीजि विचार हो ।)