विचार/ब्लग

डा. केसी तपाई–हामी जस्ता तीन करोड जनताका लागी अनशन बसेका हुन्, काठमाण्डौ किन बोल्दैन !

नेपाली समाज विविधतायुक्त र समिश्रण संस्कारमा निर्माण भएको एक नमुना समाज हो । समाज निर्माण गर्न धेरै तत्वहरू आवश्यक हुन्छन् । जस्तै : राजनीतिक, सांस्कृतिक, आर्थिक र शैक्षिक वातावरणले समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । यतिले मात्रै पनि समाज पूर्ण बन्न सक्दैन । यसमा अरु थुप्रै कुराहरुको आवश्यक बोध हुने गर्छ । यद्यपी नेपालको सामाजिक संरचना आधुनिकता तर्फ उन्मुख हुँदै गइरहेको दृष्टान्तहरू भने भेटिन थालेका छन् । यसले नेपाली संस्कार र आफ्नोपनमा केही चोट भने पुर्याएकै छ ।

अतिन आचार्य

राष्ट्र बलियो र सशक्त हुन त्यहाँका जनता एक हुन आवश्यक हुन्छ । भनिन्छ एकता नै बल वा शक्ति हो । देशका हरेक समस्यासंग जुध्न एक्लैले सम्भव छैन । तर ठूलो समूह भएर पनि नेपालमा धेरै कुरा प्राप्त हुन सक्दैनन् किन ? भन्ने यतिबेला प्रश्न आम जनमानसमा खड्किएको छ । यतिबेला चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै प्राध्यापक डा गोबिन्द केसीले अनशन बसेको दुई साता नाघिसक्यो । डा. केसीका माग आम नेपालीकै माग बनेको छ । निजि स्वस्थ्य संसथाका किचकित्सकदेखि धेरै नेपाललीले यतिबेला उनको समर्थनमा बिरोधका कार्यक्रम सडकदेखि सामाजिक सञ्जालमा पनि गर्दै आएका छन् ।

तर डा. केसीको मागप्रति सरकार भने गम्भिर ढंगमा प्रस्तुत हुन सकेको छैन । पटक–पटक वार्ता भएपनि ठोस निश्कर्ष निकाल्न नसक्दा केसीको अनशन लम्बिदै गएको छ । भने ६० बर्षीय केसीको स्वास्थ्यमा समेत प्रतिकुल असर देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताइरहेका छन् । आम नागरिकले केसीको मागमा गम्भिर हुन सरकारलाई दवाव पनि दिदै आएको छ । तर सरकार यति निरिह छ कि राजनीतिक दलको हावीका कारण निर्देशन र आश्वासन बाहेकका कुनै प्रगतीशिल निर्णय गर्न सकेको छैन ।

डा.गोविन्द केसी समाजका एक प्रतिनिधि पात्र, जसलाई खुला पुस्तकको रुपमा लिदै हामीले धेरै कुरा अनुभूत गर्न सक्छौ । म आज उहाँको बारेमा धेरै विवेचना गर्दिन । आम नेपालीलाई थाहा छ, डा.केसीको पृष्ठभूमि । मैले यति मात्रै प्रकाश पार्न खोजेको हो कि गोविन्द केसीको समर्थनमा समस्त नेपाली छन् । कोही सक्रिय छन् त कोही मौन । डा.केसी को ११ औ पटकको अनशन आज १८ औ दिन पूरा हुदैछ । डा.गोविन्द केसीको यो अनसनले एकातिर नेपालीको चेत खुलाएको छ भने अर्को तर्फ राज्यको बेथिति र राजनीतिक हावीलाई परास्त गर्न खोजिरहेको छ । डा. केसीले भोलीको नेपाली समाजलाई सभ्य र समुन्नत राष्ट्र निर्माणका लागि त्यो अनसनबाट हिराको सुवास छर्न खोजिरहेका छन् । राजनीतिको एक संस्कार बसाल्न खोजिरहेका छन् । समानताको भावना र पहुँचको विकास गरौ र समृद्धि मेरो कालखण्डमा होस् भन्ने चाहेका छन् । राज्यका जिम्मेवार व्यक्ति जो कुम्भकर्ण बनेर निदाएका छन् । उनीहरुलाई ब्युझाउन निरन्तर आफ्नो जिउ–ज्यान अर्पिएर लम्पसार छन् डा.केसी । एक औषधी पानीको सहारामा अन्ध भक्त रानीतिक संस्कारको जालोलाई हटाउन सत्याग्रहको सङ्खघोष गरिरहेका छन् ।

आफ्नो लागि अनसन बसेका होइनन् डा.के.सी । अढाई करोड भन्दा बढी जनताको लागि बसेका हुन् । सबैलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन, आफ्नै भूमिमा गुणत्मक चिकित्सा शिक्षा ग्रहण गर्न सकियोस्, समयमा प्रशुती गराउन नपाउदा नेपाली महिलाले अकालमा ज्यान गुमाउँन नपरोस्, झाडापखाला तथा एउटा सिटामोलकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर हो । हरेक प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनोस् तथा चिकित्सा शिक्षण अस्पताल होस भनेर पनि उनी यो कठोर सत्याग्रहमा छन् । तर सरकार यसमा सरकार बार्गेनिङ गरेर बसेको छ । भूमाफिया र खोक्रो राष्ट्रवादमा चलखेल गर्न पल्किएकाहरुले नै देशको समृद्धिलाई नंग्याइरहेका छन् । प्रत्यक्ष सम्बन्ध छ, बिचौलियाको सरकार सँग तथा सहजकर्ताको भूमिका निभाउनेहरू पनि जता मल्खु उतै ढल्कु गरिरहेका छन् । राजनीतिक दलका शिर्षस्थ नेतागणहरू भन्दैछन कि अनसनको औचित्य छैन र अनसन बस्नु भनेको सबै माग पूरा गर्नु होइन । त्यसो हो भने कसो गरे होला त तनेता ज्यू ? जवाफ स्पष्ट दिनुस् ।

के डा. केसीको मागमा काठमाण्डौका रैथाने अन्जान् छन् ? किन जाग्दैनन्, के मौन बसेकै हुन् ? बुद्धिजिवि र शैक्षित जमातको हो यो शहर । राज्यका धेरैजसो निर्णय यही शहरबाट फर्छौट हुने गर्छ । आज यही शहरले डो. गोविन्द केसीलाई हो मा हो मिलाउने बेला आउको छ । जबसम्म काठमाडौको समाजको आवाज बुलन्द हुदैन तब सम्म सिंहदरबारले सुन्ने छैन । काठमाडौंको समाजको भूमिका निर्णायक हुन्छ । डा.केसीको माग पूरा गराउन वा सरकारलाई दबाब दिन । हरेक आन्दोलनलाई सफल बनाउन भनौ वा सरकारलाई घुँडा टेकाउन बाध्य बनाएका दृष्टान्तहरू प्रशस्तै छन् ।

त्यसैले डा.केसीको माग जायज छ र त्यो माग अढाई करोड नेपालीसँग प्रत्यक्ष जोडिएको छ भनेर धिमे बाजा बजाउ र सिंहदरबारको ठाडो बनाइदेउ । टुलुटुलु नहेर, हातमा हात देउ काधमा काध मिलाउ अनि डा. केसीको मागमा ऐक्यबद्धता जनाउ काठमाण्डौवासी आऊ । यो सडक र सदनमा तिम्रो उपस्थितीको खाँचो छ । समाज परिवर्तन वा राष्ट्र निर्माणको संवाहकको रूपमा आज तिम्रो जरुरत छ ।