राजनीति

माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशको चुनाव हुनेमा आशंका, एक्कासि देखियो यस्तो संकेत !

काठमाण्डौ । मुलुकमा असोज २ गते हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि एउटा महत्वपूर्ण काम सकिन्छ । बीसौं वर्षदेखि रिक्त रहेका स्थानीय निकायहरु क्रियाशील हुने बाटो खुलेको छ । तर स्थानीय तहको निर्वाचन सकिएपनि मुलुकमा दुईवटा महत्वपूर्ण निर्वाचन सम्पन्न गर्ने कार्यभार भने बाँकी नैछ ।

आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तर निर्वाचन आयोगले माघ ७ गतेभित्र दुई तहको निर्वाचन सम्पन्न गर्न नसकिने संकेत दिन थालेको छ ।

निर्वाचन आयोगले यो विषयमा आधिकारिक धारणा बाहिर नल्याएपनि त्यसका अधिकारीहरु माघ ७ गतेअघि एउटा मात्र निर्वाचन गर्न सकिने भन्दै प्रतिक्रियाहरु दिन थालेका छन् ।

निर्वाचन आयोगका जिम्मेवार अधिकारीहरुले नै यस्ता प्रतिक्रिया दिन थालेपछि माघ ७ गतेभित्रै दुईवटा निर्वाचन गर्ने म्यान्डेट पर सर्ने संकेत देखिन थालेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.आयोधिप्रसाद यादवनै माघ ७ गतेभित्र दुईवटा निर्वाचन सम्पन्न गर्न नसकिने बताउन थालेका छन् । तर उनले सो मितिभित्र प्रतिनिधिसभाको निर्वाचन भने सम्पन्न गर्न सकिने बताइरहेका छन् ।

डा.यादवले पछिल्ला दिन केही सञ्चारमाध्यामहरुलाई दिएका प्रतिक्रिया हेर्दा लाग्छ, अब माघ ७ गतेभित्र एउटा निर्वाचन सम्पन्न गर्न पनि सरकारले तत्काल मिति घोषणा गर्नुपर्ने हुन्छ । अन्यथा, त्यसका लागि पनि समय अपुग हुनसक्छ । त्यसैले माघभित्र प्रतिनिधिसभा वा प्रदेशसभा कुनचाहि तहको निर्वाचन गर्ने सरकारले तत्काल मिति घोषणा गरेर तयारी गर्नुपर्ने हुन्छ ।

आयुक्त डा.यादवले सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि पनि आगामी भदौ पहिलो हप्ताभित्र मिति तय गर्नुपर्ने बताउँदै आएका छन् ।

सो समयसीमा फुत्किए आयोगले निर्वाचनको तयारी गर्न नसक्ने र निर्वाचनको मिति समेत पर सर्न सक्ने उनको भनाई छ । त्यसैले माघमा चुनाव सम्पन्न गर्न सरकारले तत्काल निर्वाचनको मिति तय गर्ने र अन्य तयारीमा जुट्नुपर्ने देखिन्छ ।

एमालेको भित्री आसय र यादवको प्रतिक्रिया !
पछिल्ला दिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले माघ ७ गतेभित्र दुईवटा चुनाव गर्न नसकिने तर प्रतिनिधिसभाको चुनाव मात्र गर्न सकिने भन्ने प्रतिक्रियाले एमालेलाई भने खुसी बनाएको छ ।

एमालेले पनि पछिल्ला दिन सकिन्छ भने माघ ७ गतेभित्र दुईवटै निर्वाचन एकैपटक गर्नुपर्ने, यदि सकिदैन प्रतिनिधिसभा निर्वाचनचाहि जसरी पनि पहिले गर्नुपर्ने माग अघि सार्दै आएको छ । यदि प्रतिनिधिसभा निर्वाचन पनि गर्न सकिएन भने मुलुकमा जटिल प्रकारको संवैधानिक र राजनीतिक जटिलता आउन सक्ने एमालेले बताउँदै आएको छ ।

डा.यादवले अघि सारेको प्रस्ताव र एमालेले अघि सारेको प्रस्ताव मिलेको छ । त्यसैले यादवका पछिल्ला प्रतिक्रियाबाट एमाले नेताहरुले खुसी व्यक्त गरिरहेका छन् । उनीहरुले मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

उता, सत्तारुढ दलका नेताहरुले भने अब छिट्टै निर्वाचनको मिति तोकिने बताउँदै आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको एकहप्ताभित्र निर्वाचनको मिति तोक्ने प्रतिक्रिया दिइरहे पनि संविधान संशोधन प्रस्ताव लगायतका मागहरुको विषयलाई कसरी अघि बढाउने भन्ने विषयमा  अझै स्पष्ट भैनसकेकोले उनीहरुले मिति घोषणा गर्लान् वा नगर्लान् यसै भन्न सक्ने स्थिति छैन ।