स्वास्थ्य

केएमसीमा मृत्यु भएकी बालिकाको शव उठेन, मृत्युको कारण भन्दैन अस्पताल

काठमाण्डौ, २४ साउन । काठमाण्डौ मेडिकल कलेजमा सोमबार साँझ मृत्यु भएकी बालिकाको शव परिवारले अझै उठाएका छैनन् । चिकित्सकको लापरवाहीका कारण बालिकाको निधन भएको भन्दै आफन्तले शव नउठाएका हुन् । तर बालिकाको मृत्यु चिकित्सकका कारण नभएको अस्पताल प्रशासनले बताइरहेपनि के कारणले मृत्यु भन्नेबारे भने अनबिज्ञ छ ।

बालिकाको मृत्युको कारण र शव उठाउने विषयमा आज बिहानैदेखि बालिकाका आफन्त र अस्पताल प्रशासनबीच पटक–पटक वार्ता भएपनि ठोस सहमति नहुँदा अस्पताल अझै तनावग्रस्त बनेको छ । अहिले पनि बालिकाका आफन्तले अस्पताल परिसरमा धर्ना दिइरहेका छन् भने वार्ताको तयारी पनि भइरहेको प्रशासनले जनाएको छ ।

लडेर सामान्य घाइते भएकी ९ बर्षीया सुनीता बस्नेतको कुर्कुच्चाको हड्डीमा असर देखिएपछि उनलाई परिवारले अस्ति आइतबार केएमसी अस्पताल ल्याएका थिए । अस्पतालमा सामान्य ब्याण्डेजपछि दुखाइ कम गर्ने फ्लेक्शन औषधि आधा ट्याप्लेट खान चिकित्सकले सुझाएका थिए । तर औषधि खान शुरु गरेपछि सुनीतको शरिरमा डाबर देखियो । त्यसपछि परिवारले अरु केही भएको हो कि भन्ने आशंकामा झारफुक गर्न धामीकोमा पनि लगे । तर बिसको उन्नाइस नभइ बालिकाको पेटसमेत फुल्दै गएपछि सोमबारै साँझ ५ बजेतिर पुनः केएमसी अस्पातालको इमर्जेन्सीमा उनको भर्ना गरिएको बालिकाका बुवा महेन्द्र बस्नेत बताउछन् ।

अस्पताल भर्ना भएको २ घण्टापछि चिकित्सकले बालिकालाई मृत घोषणा गरेको पारिवारिक स्रोत बताउछ । त्यसपछि बालिकाका आफन्तले मृत्युको कारण अस्पतालको लापरवाही भएको भन्दै शव लिन मानेका छैनन् । बालिकाका आफन्तहरुले उपचारमा संलग्न चिकित्सकले मृत्युको कारण खुलाउनुपर्ने मागसहित धर्ना दिइरहेका छन् । घटनाका दोषीमाथि कडा कार्वाही नभए जस्तोसुकै कदम चाल्न पछि नपर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

यता अस्पताल भने अरु कुनै औषधि नचलाइ मात्रै त्यही दुखाइ कम गर्ने फ्लेक्शन दिइएकोले त्यसको रियाक्शन यति भयंकर नहुने बताइरहेको छ । तर के कारणले बालिकाको मृत्यु भयो त भन्ने यकिन जवाफ भने अस्पतालसंग छैन । अब बालिकाको शव पोष्टमार्टम गरेर अरु थप अनुसन्धान भएपछि मात्रै मृत्युको खास कारण खुल्न सक्ने अस्पताल प्रशासन प्रमुख प्रकाश भट्टराईले बताएका छन् ।