कृषि

तराईका ८ जिल्लामा कृषि विकास मन्त्रालयले ल्यायो नयाँ योजना

काठमाडौँ । कृषि विकास मन्त्रालयले तराईका आठ जिल्लामा राहतस्वरुप दुई हजार ट्युबवेल निर्माणसहित पम्पसेट वितरण गर्ने भएको छ । वितरण गरिन लागेको पम्पसेटको मूल्य रु ४० हजारदेखि रु ४५ हजार पर्छ । खरिदमा किसानले १५ प्रतिशत व्यहोर्नु पर्नेछ । कृषि विकास मन्त्रालयले पम्पसेटका लागि रु १४ करोड छुट्याएको छ ।

समयमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेपछि सिरहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रौतहटका लागि उक्त पम्पसेट वितरण गर्न लागेको मन्त्रालयले जनाएको छ । उक्त जिल्लामा साउन १६ गतेसम्म सरदर ७० प्रतिशत रोपाइँ भएको छ ।

कृषि विकासमन्त्री रामकृष्ण यादवले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा हालसम्म यथोचित रुपमा धान रोपाइँ हुन नसकेकाले किसानलाई राहतस्वरुप पम्पसेट वितरण गर्न लागिएको बताए । राहतस्वरुप मन्त्रालयले सिँचाइ सुविधा उपलब्ध गराउन नसकेका साना सिँचाइ, कुलो र नहर तत्काल मर्मतका लागि रु ३९ लाखको लागतमा २६ वटा आयोजना सञ्चालन गर्ने तथा वैकल्पिक खेती प्रणालीअन्तर्गत उन्नत छरुवा धानको जात (बीउ) वितरण गर्ने योजना अघि सारेको छ ।