समाचार

भेरी नदीले बगायो दर्जन काठेपुलसहित झोलुंगे पुल

डोल्पा, २२ साउन । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ ।
ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदै आउने भेरी नदीमा विगत वर्षभन्दा यस वर्ष पानीको बहाव उच्च भएपछि ठाउँ ठाउँमा क्षति पुर्याएको स्थानीयवासी ओम गुरुङले बताए ।

साउन लागेदेखि मात्रै उपल्लो डोल्पामा दर्जनभन्दा धेरै काठेपुलसहित एक झोलुंगे पुल बगाएको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । बाढीको उच्च बहावले छार्काताङसोङ गाउँपालिका मुकोट कागकोटमा पर्ने भेरी नदीमा रहेको पुरानो झोलुंगे पुलसमेत बगाएको छ । भारी वर्षात्सँगै ठूलोभेरी नदीमा आएको बाढीले फलामे पुलसमेत बगाएको उनको भनाइ छ ।

विभिन्न स्थानमा लगाइएको काठेपुल तथा झोलुंगे पुल बगाएपछि उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्धलगायत गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा आवतजावत गर्न समस्या भएको छ । यसबाट यार्सागुम्बा व्यापारका लागि छिमेकी चीनको तिब्बत जाने व्यापारीलाई मर्का परेको छ ।

वर्षौदेखि सञ्चारविहीन उपल्लो डोल्पाका लागि नेपाल खाद्य संस्थानले उपलब्ध गराएको नुन तथा चामल वितरण गरिने समय यतिखेर नै परेको छ । उपल्लो डोल्पाका लागि खाद्यान्न तल्लो डोल्पामा पर्ने हवाई मार्ग तथा पैदल मार्गबाट ढुवानी गर्न ढिला हुनाका साथै ढुवानी रकमसमेत महंँगो पर्ने भएकाले हरेक वर्ष काठमाडौँबाट चीनका केरुङ तथा क्याटु नाकाबाट ढुवानी हुने गरेको नेपाल खाद्य संस्थान डोल्पा प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।