खेलकुद

रोनाल्डो रियल मड्रिड फर्किए

एजेन्सी । क्रिष्टियानो रोनाल्डो प्रशिक्षणका लागि रियल मड्रिड फर्किएका छन् । रोनाल्डो आगामी साता हुने युरोपियन सुपर कपको तयारीका लागि प्रशिक्षणमा फर्किएका हुन् ।

सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडले युरोप लिग च्याम्पियन म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । रोनाल्डो रियल मड्रिडमा रहने नरहने भन्ने चर्चा चलिरहेका बेला उनी प्रशिक्षणमा फर्किएका हुन् । रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोपबाट निराश रहेको र यसले गर्दा उनी स्पेन छोडेर इंग्ल्याण्ड फर्किन चाहेको खबर आइरहेका छन् । रोनाल्डोले अतिरिक्त बिदा सकाएर क्लब फर्किएका हुन् ।

रोनाल्डो गएको महिना रुसमा भएको कनफेडेरेशन कप फुटबलमा पोर्चुगलबाट सहभागी भएपछि पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन् । रोनाल्डो शनिबार टिमका अरु खेलाडीसँग प्रशिक्षणमा सहभागी भएका हुन् ।