समाचार

२ नम्बर प्रदेशको निर्वाचनमा सहभागि हुने की नहुने ः राजपा बैठक बस्दै

काठमाण्डौ, २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनाबमा सहभागि गराउने भन्दै असार १४ मै सकिने २ नम्बर प्रदेशको निर्वाचन अन्ततः लम्बिएर तेस्रो चरणमा पुगेको छ । अझै पनि चुनाबमा भाग लिने वा नलिने राजपाको अन्योलता भने कायमै छ । चुनाबमा भाग लिने वा नलिनेबारे आज छलफल हुने राजापाले जनाएको छ ।

२ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने र नहुने लगायतका बिषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठक आज शुरु हुँदैछ । काठमाण्डौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा विहान ११ बजे शुरु हुने बैठकमा संविधान संशोधन नभई निर्वाचनमा भाग लिने वा नलिने र पार्टीको सांगठनिक संरचना, आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गत साउन १८ गतेदेखि हिजो २१ गतेसम्म बसेको पदाधिकारी बैठकमा बोल्ने मध्ये धेरैले संबिधान संशोधन नभइ निर्वाचनमा भाग लिन नहुने सुझाव दिएका छन् । उनीहरुले संविधान संशोधन नै पार्टीको बटमलाइन भएको भन्दै त्यो बिना चुनावमा जान नसकिने धारणा राखेका थिए । केहिले भने संशोधनलाई मुद्धा बनाएर निर्वाचनमा जानुपर्ने बताएका थिए ।

यस्तै पछिल्लो पटक पार्टीमा बढेको बिबादबारे पनि बैठकमा छलफल हुनेछ । ६ वटा दल मिलेर पार्टी बनेपनि सांगठनिक रुपमा एकिकरण भने हुन सकेको छैन । पार्टी नेतृत्वप्रति असन्तुष्ट पक्षले विधान परिमार्जनको माग गरेको छ । राष्ट्रिय जनता पार्टीको केन्द्रिय समितिमा करिब १ हजार सदस्य छन् ।