पु.समाचार

बालक अपहरणमा संलग्न प्रहरीद्वारा सार्वजनिक

काठमाण्डौ, २१ साउन । पाँच वर्षीय बालक विशाल चौधरीको अपहरणमा संलग्नलाई आज महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको छ । अपहरणका मुख्य योजनाकार राजु विकलाई उदयपुरको गाईघाटबाट र अर्का अभियुक्त विष्णु पाण्डेलाई रामेछाप मन्थली नगरपालिका १२ स्थित घरबाटै प्रहरीले पक्रेर ल्याएको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान पनि भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी गत साउन १२ गते विद्यालयबाट घर फर्कने समयमा अपहरणमा परेका थिए । बालक चौधरी अपहरणमा परेको चारदिनपछि सोमबार बिहान ४ बजे भक्तपुरमा सकुशल फेला परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

अपहरणपछि बालकका आफन्तलाई टेलिफोनमार्फत ५० लाख रुपैयाँ फरौतीको अपहरणकारीले माग गरेका थिए । तर फिरौति नदिइ बालक सकुसल फेला पार्नुका साथै अपहरणकारीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ ।