पु.समाचार

भरतपुरमा गणना जारी, रेणु दाहाल मात्रै ४ मतको अन्तरमा

भरतपुर, २१ साउन । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनकी मेयर पदका उम्मेद्वार रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मतान्तर घटाउदै लगेकी छिन् । वडा नम्बर २० को १६ सय मत गणना भइसक्दा रेणु ४ मतको अन्तरले मात्रै पछि छिन् ।
प्राप्त मतपरिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४२ हजार ४१८ मत ल्याउदा रेणुले ४२ हजार ४१४ मत ल्याएकी छिन् । त्यसैगरी वडा नम्बर २० मा नेपाली कांग्रेसका वडाध्यक्षका उमेद्वारले ६९२ मतका साथ अग्रस्थानमा रहेका छन् भने एमालेका उमेद्वारले ४३३ मत प्राप्त छन् ।
अब १७ सय मत गणना हुन बाकी रहेको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिएका छन् । भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ । तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ । मतगणना आजै रातिसम्ममा गणना सम्पन्न हुने जनाइएको छ ।