पु.समाचार

दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसको निर्वाचन तयारी ? देखिदैछ यस्तो संकेत !

काठमाण्डौ । असोज २ गते दुई नम्बर प्रदेशमा तेश्रो चरणको स्थाननीय तहको निर्वाचन हुँदैछ । मुलुकका ठुला पार्टीहरु उक्त प्रदेशको चुनावमा होमिइसकेका छन् ।  नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले दुई नम्बर प्रदेशका जनता र त्यहाँको विकासका लागि आ–आफ्नै एजेण्ड तय गरिरहेका छन् । त्यसैले यो पटकको दुई नम्बर प्रदेशको चुनाव निकै कडा प्रतिस्पर्धाका साथ सम्पन्न हुने देखिदैछ ।

दुई नम्बर प्रदेशमा कुन पार्टीको बढी माहोल आउला त ? अहिले नै यसको पुष्टि गर्न हतार भएपनि नेपाली कांग्रेसको दाबी अनुसार उसको तयारी निकै तीव्र हुने देखिदैछ । सो पार्टीका नेताहरुले दुई नम्बर प्रदेशको जम्मा १२७ सिटमध्ये सय सिट कांग्रेसले नै जित्ने गरी तयारी गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

पूर्वी तराई–मधेसको मध्य भागमा अवस्थित दुई नम्बर प्रदेश आफैमा महत्वपूर्ण क्षेत्र हो । जसले पहाडदेखि भारतीय सीमालाई समेत छोएको छ । यो क्षेत्रको निर्वाचनमा सरकार र राजनीतिक पार्टीहरुले समेत निकै चनाखो भई निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ ।

कांग्रेसले दुई नम्बर प्रदेशमा जित हासिल गर्न विभिन्न नाराहरु र आधारहरु तयार गर्ने काम गरिरहेको छ । केही दिनअघि दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सो क्षेत्रमा लागू गर्न सकिने विकासका मोडलहरुबारे बहस उठान गरेका थिए ।

उनले जनकपुरलाई महानगरपालिका बनाउनेदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको कुरा स्थानीय जनता र कार्यकर्ता समक्ष राखेका थिए ।

उनले लामो समयदेखि बसहमा रहेको हुलाकी राजमार्गदेखि पूर्व–पश्चिम रेलमार्गको आयोजनालाई समेत आफ्नो सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढाएको संकेत दिएपछि दुई नम्बर प्रदेशका कांग्रेस कार्यकर्ताहरु हौसिएका देखिन्छन् ।

 कांग्रेसको पोजिसन कस्तो आउला ?
पूर्वी तराई–मधेसको मध्य भागमा अवस्थित यो प्रदेश ८ वटा जिल्ला मिलेर बनेको छ । जनकपुर र बीरगञ्ज लगायतका मुलुकका ठुला क्षेत्रीय शहरहरु समेत रहेको २ नम्बर प्रदेशको राजनीतिक जित–हारले मुलुककै राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने निश्चित छ ।

यो क्षेत्रको पछिल्लो राजनीतिक अवस्था हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेबीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यस्तै केही जिल्लाहरुमा अन्य मधेसवादी दलहरुसँग समेत कडा प्रतिस्पर्धा हुने निश्चित छ । यद्यपि,राजपाले अहिले सम्म पनि चुनावमा जाने निश्चित गरिनसकेकोले मधेसवादी दलहरुको प्रभाव कतिसम्म हुन्छ भन्ने निश्चित भैसकेको छैन ।

संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतका मधेसवादी दलहरु भने निकै कडा प्रतिस्पर्धामा उत्रिने देखिदैछ ।  नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको क्षेत्र भएकोले पनि दुई नम्बर प्रदेशमा कांग्रेस हावी हुने देखिन्छ । किनभने दुई नम्बर प्रदेशको चुनावी तयारीसँगै विमलेन्द्र निधि लगायत नेताहरु कांग्रेसलाई विजयी गराउने अभियानमा तिव्र ढंगले लागिरहेका छन् ।

यद्यपि, यो क्षेत्रमा एमालेले पनि आफुलाई निकै राम्रो ढंगले स्थापित गराएको छ । एमालेको विशेषगरी दुई नम्बर प्रदेशको पहाडी इलाका जोडिएको क्षेत्रमा निकै राम्रो पक्कड देखिन्छ ।

त्यसर्थ, यो प्रदेशको चुनावी प्रतिस्पर्धा कडा हुने देखिन्छ । यद्यपि, शीर्ष दलका सबै केन्द्रीय हेर्डक्वाटर यो चुनावमा केन्द्रीत हुने र निर्वाचनमा झर्ने जनमतलाई अहिलेनै आंकलन गर्न नसकिने भएकोले मतपरिणाम कस्को पक्षमा आउँछ त्यो भने प्रतिक्षाकै विषय हुने देखिन्छ ।