अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको गृहजिल्लामै नेता राहुल गान्धीमाथि आक्रमण

एजेन्सी । भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ । नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । उनलाई केही सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था गरी घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए ।

आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेको र गाडीको झ्यालको सिसा फुटेको छ । काँग्रेस अध्यक्ष सोनीया गान्धीका छोरा समेत रहेका राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका थिए ।

“धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याड तर्फ जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको हो, आक्रमणकारीले हानेको ढुङ्गा गाडी भित्र पसेको छ,” जिल्ला प्रहरी प्रमुख निराज बाड्गुजारले सञ्चारकर्मीमाझ बताए ।

काँग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी (विजेपीका) का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ ।

“विजेपीका उग्र व्यक्तिहरुले काँग्रेस उपाध्यक्ष राहुलजीको कारमा धनेराको लालचोकमा आक्रमण गरेका छन् । गुजरात राज्यको बनास्कान्थ जिल्लामा भएको घटना घृणित र निन्दनीय छ,” काँग्रेसका प्रवक्ता रणदिप सुर्जेवालाले भने ।

उनले थपे, “विध्वंसकारीहरुको योजनाबद्ध आक्रमणबाट उपाध्यक्ष गान्धी चढेको गाडीको झ्यालको सिसा फुटेको छ । केही सुरक्षाकर्मीहरु घाइते भएका छन् । विजेपीले सत्यतथ्य पत्तालगाई यसबारे निर्णय लिने छ ।”  तर विजेपी यस घटनामा मौन बसे ठूलो मूल्य चुकाउनु पर्ने काँग्रेसले चेतावनी दिएको छ ।