खेलकुद

राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा प्रशंसा र आर्यन पहिलो

काठमाडौँ । प्रशंसा मोक्तान र आर्यन गिरी प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको आ-आफ्नो प्रतिस्पर्धामा  पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको खेलमा प्रशंसा दश वर्षमुनि (यु–१०) गल्र्स तथा आर्यन यु–१२ ब्वाइज सिंगल्समा पहिलो भएका हुन् । प्रशंसाले रोशनी लिम्बूलाई ७–५, ४–६ र १०–७ ले पराजित गर्दै प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । यसअघि प्रशंसाले यु–९ सिंगल्समा पनि पहिलो स्थान हात पारेकी थिइन् ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज फाइनलमा आर्यनले प्रणव मानन्धरलाई ६–४ र ६–० को सोझो सेटमा हराए । चार खेलाडी सहभागी यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगमा राष्ट्रिय च्याम्पियन संरक्षकभूषण बज्राचार्यले प्रणव खनाललाई ६–३ र ६–२ को सीधा सेटमा पन्छ्याउँदै लगातार दोस्रो जित निकाले ।

पहिलो खेलमा संरक्षकले साम्राज्ञ कट्वाललाई हराएका थिए । अब उनले निनवाम राईसँग खेल्न बाँकी छ । त्यस्तै प्रणवले साम्राज्ञ कटुवालविरुद्ध भिड्ने छन् । प्रणवले पहिलो खेलमा निनवामलाई पराजित गरेका थिए । संरक्षक र प्रणव दुवैको खेल बिहीबार हुनेछ ।

दीक्षालाई स्वर्ण 
त्यसैगरी क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) की दीक्षा तामाङले नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ महिला सिंगल्समा  स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा दीक्षाले प्राइमकी निकिता कस्तीलाई ११–५ र ११–७ को सोझो सेटमा पराजित गरिन् । महिला टिम स्पर्धामा विजेश्वरीले आरुणीलाई ३–० ले हराउँदै स्वर्ण जित्यो ।

स्कुलतर्फ यु–१६ ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली पहिलो भए । उनले फाइनलमा आफ्नै स्कुलका सन्जिव गुरुङको चुनौती १७–१५, ११–५ र ११–७ ले समाप्त पारे ।

यु–१२ ब्वाइज सिंगल्समा पहिलो बन्न सफल पुष्पसदनका सिद्धार्थ तामाङले एभीएमका विशाल गोलेलाई १३–११, ६–११, ११–८, ७–११ र ११–८ को सोझो सेटमा पाखा लगाए । यु–१४ ब्वाइज सिंगल्समा प्रोक्सिमाका रेखन तामाङले बाजी मारे । फाइनलमा उनले एभीएमका सुजन बडाललाई १२–१०, ११–१३, १५–१३ र ११–८ ले निराश पारे ।

स्कुलकै ब्वाइज डबल्समा सिर्जना ज्ञान सागरका विकिन पोखरेल र प्रवीण सापकोटाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रिमियरका हिमान्शु सिंह र आर्यमान प्रधानलाई १६–१४ र ११–४ को सोझो सेटमा पन्छाए ।