कृषि

कन्काई नहर, तराईको उत्कृष्ट

झापा, १८ साउन । झापाको कन्काइ नहर तराईकै उत्कृष्ट मानिएको छ । नहरमा बाहै्रमास पानी आउने, टुटफुट नभएको, अतिक्रमण समस्या नरहेको र नहरमा बालुवाको समस्या नभएकाले सोे नहर उत्कृष्ट मानिएको हो । तराईको भू–भागलाई अन्न उत्पादनको भण्डार बनाउन २०३४ सालमा तयार गरिएको सो नहर अहिलेसम्म चुस्त–दुरुस्त एवम् व्यवस्थित रहेको पाइएको छ । दक्षिण कोरिया सरकारले बनाएको सो नहरको अधिकांश भागमा पानी बग्ने सतह र दुवै किनारमा सिमेन्ट प्लास्टर गरी पक्की बनाइएको छ । मूल प्रणाली ३६ किमी र यसका २२ वटा शाखा ७४ किमी गरी कुल ११० किमीमा फैलिएको कन्काई नहरले बर्खे र हिउँदे बालीका लागि पूरै प्रणालीमा पानी दिन्छ भने चैते धानका लागि १ देखि १२ नं शाखामा एक वर्ष र १३ देखि २१ नं शाखामा अर्काे वर्ष पालो मिलाएर पानी दिने गरेको छ ।

कृषकले पालैपालो सिँचाइको व्यवस्था मिलाउँदै आएका छन् । नहरमा आश्रित कृषकले मूलबाली धान, मकै, गहुँ, तोरी र तरकारी लगाउने गरेका छन् । उनीहरूले एक बालीका लागि सिँचाइ गरेबापत एक बिगाहामा २ सय रुपैयाँ पानीपोत तिर्ने गर्छन् । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच र गहुँको उत्पादकत्व प्रतिहेक्टर २।८ मेट्रिक टन रहेको कृषि विकास कार्यालय भद्रपुरका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिए ।

गत आवमा पानीपोतबापत रु सात लाख संकलन भएको थियो । झापाको माईधारबाट पानी खसालेको कन्काई नहर सिँचाइ प्रणालीमा ३७० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । झापाको मध्य भागमा रहेको कन्काई नहर सिँचाइ प्रणालीले शिरानमा सतासीधामदेखि धरमपुर, पाँचगाछी, वैगुन्धुरा, तोपगाछी, शिवगञ्ज र महाभारा गरी ८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।