अन्तर्राष्ट्रिय

पाकिस्तानमा मंगलबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुँदै

एजेन्सी। पाकिस्तानको संसदमा आउदो मङ्गलबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले राजीनामा दिएकाले नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो ।

सत्तारुढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाई सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मङ्गलबार प्रधानमन्त्रीको लागि उम्मेदवार बनाइने छ ।

अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ ।

अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उनको तेस्रो कार्यकाल सकिएको छ ।

संसदमा स्थानीय समय अनुसार सोमबार दिउसो २:०० बजे उम्मेदबारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको संसद् सचिवालयले एफएफपीलाई जानकारी दिएको छ ।

त्यसपछि मङ्गलबार दिउसो ३:०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ । मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहेका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुने निश्चितजस्तै छ ।