राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमण, यसरी गरिदैछ दुई देशबीच २२ वर्ष अघिदेखिको समीक्षा !

काठमाण्डौ । प्रधानममन्त्री शेरबहादुर देउवा अबका केही हप्ताभित्र भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । सम्भवत,उनी भदौ पहिलो हप्ताभित्र भारत भ्रमणमा निस्किने अन्तिम तयारीमा रहेका छन् । चौथोपटक मुलुकको नेतृत्व सम्हालेका प्रधानमन्त्री देउवाको यो पहिलो भारत भ्रमण हो । उनलाई यो पटक भारतले राजकीय भ्रमणको लागि निम्ता दिएको छ ।

अघिल्ला तीनपटक भारत भ्रमणमा जाँदा औपचारिक भ्रमण गरेका प्रधानमन्त्री देउवालाई यो पटक भने भारतले राजकीय भ्रमणको निम्ता दिएको हो । यद्यपि, यसअघिका प्रधानमन्त्रीहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि भारतको राजकीय भ्रमण गरेका थिए ।

सोही क्रमलाई योपटक पनि भारतले निरन्तरता दिएको छ । प्रधानमन्त्री देउवालाई पनि राजकीय भ्रमणको निम्ता दिनु नेपाली नेतृत्वलाई भारतले पछिल्लोपटक दिएको ठूलो सम्मान हो ।  वास्तवमा प्रधानमन्त्री देउवाले लगत्तै गर्न थालेको यो भ्रमणमा कस्ता एजेण्डा उठाउँदैछन् ? र भ्रमणको तयारी कसरी हुँदैछ भन्ने सवालमा सर्वत्र चासो देखिएको छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा यसपटक अन्य प्रधानमन्त्रीहरुको भन्दा अलिक भिन्न ढंगले भारतसँगका एजेण्डाहरुलाई उठाउने तयारी गरिरहेका छन् ।

विगतमा मुलुकको तीनपटक नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाको यो चौथोपटक नेतृत्व सम्हालिरहँदा समीक्षा गर्ने बाटो समेत खुलुको छ । त्यसैले थुप्रैपटक मुलुकको नेतृत्व सम्हाल्दा भारतसँग भए, गरेका सम्झौताहरुको समीक्षा यो पटकको भारत भ्रमणमा गर्ने तयारी प्रधानमन्त्री देउवाले गरिरहेका छन् ।

विगतका सम्झौताहरुको समीक्षा
प्रधानमन्त्री देउवाले यो पटकको भ्रमणमा विगत २२ वर्षअघिदेखिएको सम्झौताहरुका बारेमा भारतीय नेतृत्वलाई सम्झाउने तयारी गरिरहेको बुझिएको छ । २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री रहेका देउवाले त्यसयता लगातार दुईपटक नेतृत्वमा रहँदा गरेका सम्झौता–समझ्दारीको समेत समीक्षा गर्ने जनाइएको छ ।

उनले त्योबीचमा भएका अधुरा महत्वपूर्ण योजनाहरुलाई कसरी कार्यान्वयन गर्ने र नयाँ योजनाहरुको सम्झौता कुन ढंगबाट गर्ने र अघि बढाउने भन्ने विषयमा भ्रमणको तयारी केन्द्रीत रहेको समेत बताइएको छ ।

प्रधानमन्त्री देउवाले यो पटक निकै महत्वपूर्ण समझ्दारी गर्ने समेत आंकलन गरिदैछ । भारतसँग नेपालको पछिल्लो सम्बन्धलाई नविकरण गर्ने उद्धेश्यका साथ पनि नयाँ र दुरगामी अर्थ राख्ने सम्झौताहरु गर्ने तयारीमा सरकार रहेको बताइएको छ ।

त्यसका लागि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिनरात नभनी खटिरहनुभएको बताइएको छ । केही हप्ताअघि भएको परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमण पनि त्यसैको तयारीमा रहेको बताइएको छ ।

निकै वर्ष अघिदेखि चर्चामा रहेको र अधुरो रहेको पश्चिम नेपालको पञ्चेश्वर आयोजना लगायतका विषयमा समेत प्रधानमन्त्रीको भ्रमण केन्द्रीत हुने श्रोतको दाबी छ ।