स्वास्थ्य

दुर्गममा लैजान राखिएको औषधी नष्ट !

जाजरकोट । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो ।

क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै वातावरण प्रदूषण हुने गरी औषधि जलाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर लमबहादुर खड्काले बताए । अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उक्त औषधि नष्ट गर्न नपाइने भए पनि औषधि व्यवस्था विभाग काठमाडौँ पुर्याउन भाडा लाग्ने भन्दै यतै जलाइएको खड्काको भनाइ छ ।

अस्पतालको हाताभित्रै औषधि जलाउँदा बिरामी, कर्मचारी र वरपरका बासिन्दालाई यसको गन्धले असर गरेको बताइएको छ । कार्यालयले रु १० लाखभन्दा बढी मूल्यको औषधि रातारात जलाएको अस्पतालका एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

म्याद गुज्रेको भन्दै अस्पतालको भण्डारमा रहेका औषधि जलाइएको उनको आरोप छ । एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३४ स्वास्थ्य संस्थामा औषधिको अभाव भइरहने गर्छ । कार्यालयको चरम लापरबाहीका कारण औषधि सधैँ थन्क्याएर राख्ने र अन्तिममा जलाएर नष्ट गर्ने गरिएको छ ।

सधैँजसो महामारीको प्रकोप भइरहने र औषधिको अभाव भइरहने जिल्लामा ठूलो मात्रामा औषधि जलाउनु निकै दुःखद भएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता डम्बर सिंहले बताए । अस्पतालका कर्मचारी र औषधि बिक्रेताको मिलेमतोबाट धेरै औषधि खरिद गरिने भएकाले जिल्लामा यति ठूलो मात्रामा औषधिको म्याद सकिएको नेता सिंहको आरोप छ ।

समयमै गाउँका स्वास्थ्य संस्थामा आवश्यक औषधि अभाव हुने गरे पनि ठूलो मात्रामा जिल्लामा म्याद गुज्रेका औषधि थुप्रिने गरेको छ ।
निमित्त जनस्वास्थ्य प्रमुख रामपुकार साहले जथाभावी औषधि जलाउँदा यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताए ।

“पचहत्तर जिल्लामा कहीँ पनि म्याद गुज्रेको औषधि नष्ट गर्न पाइँदैन”, साहले भने । यस्तो औषधि नष्ट गर्ने काम औषधि व्यवस्था विभागको हो ।
यसलाई एक हजार २०० डिग्री तापक्रम दिएर इन्सिनेटरमा राखेर नष्ट गर्नुपर्ने व्यवस्था छ । साहका अनुसार इन्सिनेटर किन्न रु १८ लाख पर्छ ।

वि.सं २०७२ मा सरकारले १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गरेको थियो । व्यावहारिक हिसाबले तीन महिना पहिलादेखि अस्पतालले कुनै पनि काम जनस्वास्थ्य कार्यालयसँग नगरेको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा धर्मराज रेग्मीले बताए ।

उपचार गराउन आएका बिरामीलाई कहिलेकाहीँ अस्पतालमा नभएको औषधिबाट उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग माग्दा पनि उसले नदिने गरेको निमित्त प्रमुख डा.रेग्मीको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय र अस्पतालसँगै भए पनि निर्माण भएका भवन र गाडीसमेत कार्यालयले अस्पताल प्रयोजनमा दिन रोक लगाएको छ ।

अस्पताल र कार्यालयबीच चिसिँदै गएको सम्बन्ध मिलाउनका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीसहितको टोली बसेर समस्या समाधानको बाटो खोजिए पनि समाधान निस्किएको छैन । -हेमन्त केसी