समाचार

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा पनि काम

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । सो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म पहाडमाथि दुईवटा एक्साभेटर र तल दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको छ । दुई सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा सडक करिब छ मिटर मात्रै फराकिलो छ ।

सडकलाई १८ मिटर फराकिलो बनाउन पहाड हटाउन लागिएको र उक्त ठाउँमा करिब ३५ प्रतिशत काम मात्रै बाँकी रहेको खनालले बताए । असार २७ गतेबाट रातमा सवारी साधन बन्द गरेर सो ठाउँमा राति बत्ती बालेर काम थालिएको हो । तीन दिनयताबाट चेपाङ डाँडामा पनि राति नै काम थालिएको छ । नारायणगढबाट ३३ दशमलब ८ किलोमिटर टाढा मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ । सो ठाउँमा केन्टिलिभर राख्न ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । त्यस ठाउँमा सडक पाँच मिटर मात्रै सडक फराकिलो रहेको खनालले बताए ।

चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । जहाँ ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ । काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेल गरेर सम्याउने काम पनि थालेको छ । कालोपत्रेको तयारीका लागि काम थालिएको हो । सडकको पाँच दशमलब पाँच किलोमिटर क्षेत्रमा एक तह कालोपत्रे गरिएपनि अन्य क्षेत्रमा कालोपत्रे हुनसकेको छैन ।

सडकको आठसय मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी छ । सो सडक हालसम्म करिब ५२ प्रतिशत मात्रै काम भएको छ ।